धनगढी, भदौ १४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीको प्रकृया अघि बढाएको छ । प्रदेश समितिले पार्टीका केन्द्रीय सदस्य तामाङ माथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।
सिफारिसमा तामाङलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ । उनलाई प्रदेश सभा सदस्यको पदबाट समेथ कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ ।
तामाङले पार्टीको अनुशासन र मर्यादाविपरीत पार्टीको वैधानिक व्यवस्थाविरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले गरेको सिफारिसमा उल्लेख छ ।
तामाङले सोमबारमात्रै प्रदेश सभा बैठकमा आफू एमालेमै फर्कने कुरा जानकारी गराएका थिए ।
नेकपा एमालेबाट प्रदेश सांसद निर्वाचित भएका उनले एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव पनि हुन ।