Hamro Patra
क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

टीकापुर, जेठ ७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका प्राध्यापक संघ एकाई समितिहरुले सम्बन्धित क्याम्पस प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेका छन । विगत ११ महिनादेखी शिक्षक कर्मचारीहरुले समायोजन अनुसारको तलबभत्ता नपाएको भन्दै संघले तालाबन्दी गरेको हो ।

संघले विज्ञप्ती निकाली एक साताभित्र समस्याको समाधान नभए क्याम्पसको शैक्षिक र प्रशासनिक काम कारवाही ठप्प पार्ने चेतावनी दिएको छ । टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक एकाई समितिका सभापति रामप्रसाद तिवारीले बजेट पारित भएर पनि विश्वविद्यालयले समायोजन अनुसारको तलबभत्ता उपलब्ध नगराएको बताए ।

Khadga Memorial And Janajagriti

२०७५ भदौ ३१ गतेको सिनेट (विश्वविद्यालय सभा) ले दरबन्दी अनुसार समायोजन भएका सबै २१७ शिक्षक कर्मचारीले २०७५ साउन १ गतेबाटै समायोजन अनुसारको तलबभत्ता पाउने गरी बजेट विनियोजन गरेको थियो । लामो समयदेखी सिनेटले गरेको निर्णय कार्यान्वयन नभएपछि शिक्षक कर्मचारीहरु आक्रोशित बनेका छन ।

समयमै तलबभत्ता उपलब्ध गराउन माग गर्दै २०७६ जेठ ३ गते प्राध्यापक संघ एकाई समितिका सभापति र क्याम्पस प्रमुखहरुले विश्वविद्यालयका उपकुलपति प्रा.डा. पूर्णबहादुर चन्द लगायतलाई भेटेका छन ।

उपकुलपति चन्दले बजेट अभावका कारण समायोजन अनुसारको तलबभत्ता उपलब्ध गराउन नसकिएको बताए । उनले सिनेटले विनियोजन गरेको बजेट अनुसार तलबभत्ता निकासा नहुँदा समस्या भएको बताए । ‘हामीलाई १० देखी १२ करोड आवश्यक छ तर माघ महिनामा ५ करोड २ लाख बजेट निकासा भएको छ’ उनले भने–‘अहिले बेसिक तलब खाने गरी बजेट उपलब्ध गराईएको छ ।’

तर प्राध्यापक संघले बेसिक तलब भन्दा बजेटले पुग्ने गरी समायोजन अनुसारको तलबभत्ता खुवाउन विश्वविद्यालय तयार नभएको बताएको छ । उसले विश्वविद्यालयको नियतमाथि शंका भैरहेको जनाएको छ ।

उनका अनुसार आगामी सिनेटमा यस बारेमा कुरा राखिनेछ । उपकुलपति चन्दले असार पहिलो साता सिनेट बस्ने तयारी भैरहेको जानकारी दिए । वर्षमा कम्तिमा २ पटक सिनेट बस्नुपर्ने प्रावधान छ । २०७५ भदौ ३१ पछि विश्वविद्यालयको अर्को सिनेट बस्न सकेको छैन । विश्वविद्यालयमा ब्याप्त चरम राजनीतिक अन्तरद्वन्द्वले समयमा सिनेट बस्न नसकेको स्रोतको दावी छ ।

यस विश्वविद्यालयमा सुदूरपश्चिम प्रदेशका १४ वटा क्याम्पस आवद्ध छन । २०७४ पुष २९ गतेको सिनेट बैठकबाट समायोजन कार्यविधि बनेपछि २०७५ बैशाख ३१ गते १४ क्याम्पस र विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यो विद्यार्थीको चापका हिसाबले त्रिभुवन विश्वविद्यालय पछिको दोस्रो ठूलो विश्वविद्यालय हो । यहाँ १२ हजारको हाराहारीमा विद्यार्थी छन ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update