टीकापुर, भदौ ४
कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून रहेको पाइएको छ। लाखौं रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सा पास गर्नेबारे स्थानीय सचेत बन्न सकेका छैनन् । न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ।
२०७२ मा भूकम्प गएपछि सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण संहिता लागू गर्यो। भवन निर्माण विभागको नेतृत्वमा मुलुकमै पहिलोपटक आफ्नै मौलिक र व्यवहारिक संशोधित एवं परिमार्जित संहिता बन्यो, जुन देशैभरिका पालिकामा लागू गर्न निर्देशन दिइयो। कैलालीका विभिन्न पालिकामा भने त्यो कार्यान्वयन भएको कमै पाइन्छ।
भूकम्पजस्ता विपत्ति तथा बलियो घर बनाउन र बस्ती व्यवस्थित बनाउन भवन निर्माण संहिताले सहयोग गर्छ। कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा चार तथा आव २०७७/७८ मा नौ घरको नक्सा पास गरिएको छ। यस्तै २०७८/७९ मा दुई र आव २०७७/७८ मा १४ घरको अभिलेखीकरण गरिएको भजनी नगरपालिका इन्जिनियर अनिष श्रेष्ठ बताउँछन्।
‘मापदण्ड पालना गरेर घर बनाउनुपर्छ भन्ने चेतना निकै कममा पाइयो। मापदण्डबिना निर्माण गरिएका घर पास गर्न सक्दैनौं,’ उनले भने, ‘यसले घरको मूल्यांकन गर्न र बैंकिङ कारोबार गर्न समस्या हुन्छ।’
जोशीपुर गाउँपालिकामा पनि घरको नक्सापास गर्ने निकै कम छन्। जोशीपुरले २०७२ अघि बनेका घर अभिलेखीकरण गर्नका लागि भर्खरै एकमहिने सूचना निकालेको छ। चेतनाको कमीले नयाँ घर धमाधम बनिरहे पनि नक्सापास गर्न आउने कमै रहेका जोशीपुर गाउँपालिकाका सव-इन्जिनियर हरिशा पन्तले बताए ।
जानकी गाउँपालिकामा आव २०७८/७९ मा २५ घरको नक्सापास र १७ घरको अभिलेखीकरण भएको छ। आव २०७७/७८ मा १० घरको नक्सापास र २४ घरको अभिलेखीकरण गरिएको छ। पालिकामा हरेक वर्ष सयौं पक्की घर निर्माण हुन्छन् तर समयमै पास हुँदैनन्। यसरी बनेका घरको मूल्यांकन नहुने भएकाले भविष्यमा समस्या हुन सक्ने गाउँपालिकाका सबइन्जिनियर विपीन चौधरी बताउँछन् ।
संहिताअनुसार आवासीय प्रयोजनका लागि बनाइने घर र कार्यालय, सपिङ मल, कलकारखाना तथा उद्योगधन्दाका लागि बनाइने घरको साइज मापदण्डअनुसार फरक-फरक हुन्छ। अन्य पालिकाको तुलनामा टीकापुरमा नक्सा पास गर्नेको संख्या केही बढी छ।
रासस