टीकापुर, भदौ ३
करिव ३३ वर्षअघि सुकुम्बासीका रुपमा टीकापुर भित्रिएका विजय न्यौपाने अचेल तीनवटा उद्योगका मालिक छन । उनले विगत केही समयदेखी बिना फुड प्रोडक्ट र बि. एम. फुड प्रोडक्टस् प्रालि र विधि ब्लक उद्योग सञ्चालन गर्दै आएका छन ।
टीकापुर नगरपालिका–१ वनगाउँस्थित बिना फुड प्रोडक्टले चामल उत्पादन गर्छ । उनको आधुनिक मिलले प्रति घण्टा १० क्विन्टल चामल उत्पादन गर्छ । टीकापुर नगरपालिका–३ शंकरपुरमा हालै सञ्चालनमा आएको बि. एम. फुड प्रोडक्टस् प्रालिले चिउरा उत्पादन गर्छ । उनको चिउरा उद्योग सुदूरपश्चिममै सबैभन्दा ठूलो हो । उनले नासो ब्राण्डको चिउरा उत्पादन गर्छन । उनका उत्पादनहरु सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका आधा दर्जन बढी जिल्लामा बिक्री हुन्छन ।
उनका तीनवटा उद्योगले वार्षिक करिव २२ करोडको हाराहारीमा कारोवार गर्छन । उनले ती उद्योगमा २३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन । सिजनको बेला काम गर्नेको संख्या यो भन्दा धेरै छ ।
जिरोबाट व्यवशाय सुरु गरेका न्यौपाने आज टीकापुरको एक सफल उद्योगीका रुपमा स्थापित भएका छन । उनको आगामी योजना सोयाबिन, चक्की आटा र तेल उत्पादन गर्ने उद्योग स्थापना गर्नेछ । ‘माहौल सुधार भयो भने चाँडै यी उद्योगहरु स्थापना गर्छु’ उनले भने –‘आशा छ सधै यस्तै अवस्था रहने छैन ।’
आज एक सम्पन्न उद्योगीका रुपमा स्थापित भएका न्यौपानेको विगत भने निकै दर्दनाक छ । उनले जीवनमा भोगेका दुःख कुनै चलचित्रको कथा भन्दा कम पीडादायी छैनन् ।
२०४१ साल भदौ महिनामा सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थित मरिन खोलामा ठूलो बाढी आयो । त्यो बाढीले न्यौपाने परिवारको सर्वश्व बगायो । खोला किनारको सानो घर बाहेक केही बचेन ।
मुकुन्दप्रसाद न्यौपाने ३ छोरा, १ छोरी र श्रीमती सहित मरिन खोलाको किनार छोडेर हिँडे । उनी परिवार सहित भैरहवा पुगे । त्यहाँको बिस्कुट उद्योगमा काम पाए । पाँच वर्ष भैरहवामा बिताए । उनलाई त्यहाँको कमाईले परिवारको पेट पाल्न धौ धौ भयो ।
उनी परिवार बोकेर कैलालीको साविक बलिया गाविस चौरी पुगे । त्यहाँ उनकी दिदीबहिनीको घर थियो । एक वर्ष त्यही बिताए । धेरै दिन दिदीबहिनीको घरमा बस्ने वातावरण रहेन । उनी परिवार बोकेर टीकापुर पुगे । टीकापुरमा उनले तत्कालिन टीकापुर विकास समितिको चार विगाह जमिन ठेक्कामा लिए । दुई वर्षसम्म खेतीपाती गरे । ठेक्कामा लगेको जग्गा छोड्नु पर्यो ।
२०४८ तिर उनका जेठो छोरा काठमाण्डौं र माईलो छोरा नेपालगञ्ज हिँडे । उनको सहारा बने तिनै कान्छो छोरा विजय । भैँसी पालेर दूध बेच्न थाले । उनको घरमा २ भैँसी, १ गाई र एक हल राँगा थियो । विजय बिहान टीकापुरको होटलमा दूध पुर्याउथे अनि पढ्न जान्थे । उनले प्लस टु सम्म मात्रै अध्ययन गर्न पाए । उनको लक्ष्य केही न केही व्यवशाय गरेर परिवारको आर्थिक अवस्थालाई माथि उकास्नु थियो ।
विजयले बिहानै दूध बेच्न जाँदाको एउटा घटना सुनाए । घरमा घडी थिएन । एक दिन २ बजे नै उठे । बुबाले भैँसी दुहुनु भयो । उनी दूध बोकेर वनगाउँबाट झण्डै २ किलोमिटर टाढा रहेको टीकापुर बजार पुगे । तर होटल खुलेकै थिएन । उनी बिहान ५ बजेसम्म होटलको बाहिर कुरेर बसे ।
त्यो दिनको दुःख देखेर उनका बुबाले २५० रुपैयाँमा सेकेण्ड ह्याण्ड साइकल किनेर दिए । उनी त्यो दिन निकै खुशी भएका थिए । आज उनी ४५ लाखको गाडीमा हिड्छन । तर उनी त्यो सेकेण्ड ह्याण्ड साइकलमा चढेको जस्तो मजा अहिलेको गाडीले नदिने बताउँछन ।
‘त्यो साइकल मेरो जीवनको पहिलो खुशी थियो’ उनले भने –‘त्यो खुशी अहिलेको गाडीले दिन सकेको छैन ।’
त्यो समय उनको परिवारका लागि निकै कष्ठकर थिए । उनले आफ्नो परिवारले भोगेको एउटा अर्को दुःखद घटना सुनाए । उनको घर वरपर थारु बस्ती छ । एकदिन छिमेकी थारुले माछा मारेर ल्याए । ती थारुले केही माछा उनको परिवारलाई दिए । घरमा माछा पकाउनका लागि नून, तेल, मसला केही थिएन । उनको परिवारले ती माछा तातो पानीमा उमालेर खानु पर्यो । ‘त्यो माछाको झोल कहिल्यै बिर्सिदैन’ उनले भने –‘त्यसको स्वाद अहिले पनि जिब्रोमा आएको महशुस हुन्छ ।’
उनले घुम्ती पसल थापे । हाते काँटाले सडकको किनारमा बसेर खाद्यान्न खरिद गर्न थाले । थोरै रकम जम्मा गरेर उनले आफन्तबाट किस्तामा एक कठ्ठा जमिन किने । उनको परिवार एक कठ्ठा जग्गाको मालिक बन्यो । केही समयमा त्यो जग्गा बेचे । केही पैसा थपेर वनगाउँमा ७ कठ्ठा जग्गा किने ।
उनको परिवार खरको छाप्रोमा बस्थ्यो । बस्नका लागि गतिलो घर थिएन । २०५६ सालमा हेबिटेट नामक संस्थाले विपन्न परिवारका लागि किस्तामा घर निर्माण गर्न थाल्यो । उनले सोही संस्था मार्फत ईट्टाको भित्ता र सिमेन्टको टायलले छाएको घर बनाए । उनीसँग अहिले तीनवटा पक्की घर छन । उनका अनुसार त्यो हेबिटेट संस्थाले किस्तामा बनाई दिएको घरमा सुतेको जस्तो आनन्द अहिलेका घरमा आउँदैन ।
यही बिचमा उनले २०५७ सालतिर एक वर्ष राज इट्टा भट्टामा काम गरे । त्यो क्रममा उनले ब्यापार कसरी गर्ने भन्ने बारेमा धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनी सो इट्टा भट्टाका सञ्चालक राजकुमार हमाललाई आफ्नो आदर्श मान्छन ।
उनले २०६२ सालमा सात कठ्ठा जग्गामा सानो टुकटुके मिल हाले । मिलले राम्रो ब्यवशाय गर्न थाल्यो । उनले २०६५ साल तिर ठूलो मात्रामा खाद्यान्न खरिद बिक्री गर्न थाले । त्यो टुकटुके मिलले नधान्ने भयो । उनले ठूलो आधुनिक मिल स्थापना गरे । उनी आफै चामल उत्पादन गर्न थाले ।
उनले २०७२ सालमा टीकापुर नगरपालिका–३ शंकरपुरमा ब्लक उद्योग स्थापना गरे । उनको ब्लक उद्योग राम्रै चल्यो । उनले सोही ठाउँमा गत वर्ष मात्र चिउरा उद्योग स्थापना गरेका छन । उनको नासो ब्राण्डको चिउराले बिस्तारै बजार ओगट्दै गएको छ ।
धेरैजसोको मुखबाट टीकापुरमा व्यवशाय गर्ने वातावरण नै छैन भन्ने गुनासो मात्रै सुनिन्छ । तर विजय त्यसो भन्नेहरुका लागि गतिलो जवाफ हुन । उनी मेहनत गर्नेहरुका लागि सबैतिर सम्भावना देख्छन । ‘सम्भावना आफै पोल्टामा आउँदैन’ उनले भने –‘सम्भावना के मा खोजेको हो भन्ने कुरा महत्वपूर्ण हो ।’
उनलाई असफलताको कुनै डर छैन । उनी जीवनमा जस्तोसुकै परिस्थितिको सामना गर्ने सामथ्र्य आफूमा रहेको बताउँछन । उनले जीवनमा अनेकौ दुःख भोगेका कारण दुःखको अनुभूति नै नहुने बताए । ‘मैले जीवनमा धेरै दुःख भोगेको छुँ’ उनले भने –‘जरैबाट उठेको भएर होला कुनै कुराको डर नहुने रहेछ ।’
उनी बुबाको भरोसाले नै आफू सफल भएको बताउँछन । उनले हरेक समस्यामा बुबा भरोसा बनेर उभिएका कारण हिम्मत आउने बताए । उनका बुबा ७९ वर्ष पुगे । उनले बुबा सधै भरोसा बने पनि आर्थिक चेत भने आमामा रहेको बताउँछन । उनले आमाले नै आफ्ना लागि आफै केही गर्नुपर्छ भनेर सधैं सुनाउने गरेको बताए ।