Hamro Patra
रेड मर्करीको कारोवारका नाममा महिलालाई ठग्ने चारजना पक्राउ

टीकापुर, भदौ २
रेड मर्करीको कारोवारका नाममा महिलालाई ठगी गर्ने चार जना पक्राउ परेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका–९ खक्रौला नजिक सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका २६ वर्षका विक्रम परियार, सोही ठाउँका ३१ वर्षका गणेश परियार, बाँके नेपालगञ्ज उपमहानगरपालिका–४ देवाफूलवारीका ३७ वर्षका राजन लोहनी र मोरङ बिराटनगर उपमहानगरपालिका–१८ का ४३ वर्षका महेशकुमार महतो रहेका छन ।

उनीहरुले बर्दिया ठाकुरबाबा नगरपालिका–३ भुरीगाउँकी ४० वर्षकी द्रोपती उपाध्यायलाई रेड मर्करीको कारोवारका नाममा ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उपाध्यायले चारैजनाले आफूलाई प्रलोभनमा पारेर रेड मर्करीको कारोवारका नाममा ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन ।

Khadga Memorial And Janajagriti

घटना विवरण अनुसार प्रक्राउ परेका मध्ये मख्य योजनाकार भनिएका विक्रम परियारले पीडित भनिएकी महिलालाई रेड मर्करीको कारोवार गरे मनग्य आम्दानी हुने प्रलोभन देखाएका थिए । महिला भुरीगाउँमा व्यवशाय गर्दै आएको प्रहरीले जनाएको छ ।

परियारले भारतबाट ३ लाख रुपैयाँमा रेड मर्करी किनेर ल्याए नेपालमा ५० लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रलोभन देखाएको ती महिलाले प्रहरीसँग बताएकी छन । परियारको प्रलोभनमा परेर महिला २ लाख ४७ हजार रुपैयाँ बोकेर भारतको तिकुनीयाँ पुगेकी थिईन । उनीहरु साउन २५ गते एक रात टीकापुरस्थित एक होटलमा बास बसेका थिए ।

महिलाका अनुसार भारतीय नागरिकले रेड मर्करी बोकेर आफू टीकापुर पुग्ने बताएका थिए । तर उनले भारतीय नागरिक नआएपछि आफूहरु साउन २७ गते तिकुनीयाँ गएको बताईन ।

तिकुनीयाँ पुगेपछि उनीहरु मध्ये मुख्य योजनाकार भनिएका परियार र रेड मर्करी जाँच गर्ने व्यक्ति भनिएका पक्राउ परेका मध्ये महतो रेड मर्करी जाँच गर्न भारतीय नागरिक कहाँ गएका थिए । महतो बाँकेको कोरियानपुरमा आल्मुनियमको काम गर्छन । पक्राउ परेका मध्ये गणेश परियार र लोहनी ती महिलासँगै बसे । लोहनी भुरीगाउँस्थित दुर्गा सुनचाँदी पसलका सञ्चालक हुन । प्रहरीका अनुसार उनले नै रेड मर्करी बेच्ने जिम्मा लिएका थिए ।

उनीहरु दुवैजना केही समय पछि भारतीय नागरिक सहित फर्किए । ती भारतीय नागरिकले रेड मर्करी भन्दै पीडित भनिएकी महिलालाई नङ पोलिसको डब्बा देखाए । उनले महिलालाई एक हातले रेड मर्करी दिने र अर्को हातले पैसा दिन भने । सोही बेलामा महिलाले रेड मर्करी नभएको र चारै जना भारतीय नागरिकसँग मिलेर आफू लुटिन लागेको थाहा पाईन ।

‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्–‘म पैसा नदिएर त्यहाँबाट भागे ।’

उनले आफू लुटिन लागेको भन्दै साउन २८ गते चारैजना विरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिईन । उनको उजुरीका आधारमा चारैजनालाई सीमा क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनले चारैजना उपर जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भई म्याद थप भैसकेको बताए । उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update