Hamro Patra
स्थानीय तह बलियो सरकार–मुख्यमन्त्री भट्ट

लम्की, जेठ ५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तह आफैमा शक्तिशाली सरकार भएको बताएका छन । लम्कीचुहा नगरपालिकाको आइतवार चौथो नगरसभालाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको नजिकको सरकार समेत भएको बताए ।

उनले स्थानीय तहले भ्रष्टाचारमुक्त कार्यशैली र सुशासनमा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले कृषिको वैज्ञानिकरण आजको आवश्यकता भएको बताउँदै सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा कृषिका नमूना कार्यक्रम सञ्चालन गर्ने योजना भैरहेको बताए ।

Khadga Memorial And Janajagriti

उनले सुदूरपश्चिमको विकासका मुख्य आधार जलस्रोत र धार्मिक पर्यटन समेत रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारको साझेदारीमा साना जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताए । उनले यसतर्फ प्रदेश सरकारले योजना बनाईरहेको जानकारी दिए । ‘कम्तिमा १०० मेघावाटसम्मका आयोजना हामी आफै मिलेर निर्माण गर्न सक्छौं’ उनले भने–‘अर्काको मुख ताकेर हुँदैन । हामी आफै मिलेर यो काम गरांै ।’

उनले प्रदेश सरकार धार्मिक पर्यटनलाई समेत महत्वका साथ अघि बढाउने योजनामा रहेको बताउँदै चाँडै सबै धार्मिकस्थलको ‘सर्किट’ बनाईने बताए ।

उनले विकास निर्माणका योजना छनौट गर्दा जनताको आवश्यकता अनुसार छनौट हुनुपर्ने भन्दै पहुँचका आधारमा टुक्रे योजना नछान्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । उनले जनताले चाँडो प्रतिफल पाउने गरी विकास निर्माणका काम सम्पन्न हुन जरुरी रहेको बताए ।

उनले लम्कीचुहा नगरपालिका सुदूरपश्चिमको प्रवेशद्वार भएकाले यसको विकास निर्माणले समग्र सुदूरपश्चिमको मुहार झल्किने बताए । उनले लम्कीचुहा नगरपालिकालाई प्रदेशकै नमूना नगरपालिका बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले मुख्यमन्त्री भट्ट समक्ष विभिन्न १५ बुँदे माग प्रस्तुत गरेका छन ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update