Hamro Patra
कैलालीको पूर्वी भेगमा सर्पदंशको बिगबिगी

टीकापुर, साउन २९
कैलालीको पूर्वी भेगमा सर्पदंशको बिगबिगी बढेको छ । यो वर्ष मात्रै सर्पले टोकेर उपचारका लागि टीकापुर अस्पताल पुग्नेको संख्या ४३ रहेको छ । ती मध्ये २९ महिला र १४ पुरुष छन ।

अस्पतालका सह व्यवस्थापक उपेन्द्र शाहका अनुसार असार महिनामा मात्रै सबैभन्दा धेरै २१ महिला र ५ पुरुष गरी २६ जना सर्पले टोकेर उपचारका लागि आएका थिए । त्यस्तै बैशाखमा २ महिला र २ पुरुष, जेठमा ३ महिला र ४ पुरुष र साउनको २९ गतेसम्म ३ महिला र ३ पुरुष अस्पतालमा उपचारका लागि आएका छन ।

अस्पतालका अनुसार ती मध्ये दुई जनाले ज्यान गुमाएका छन भने अरु सबै निको भएर घर फर्केका छन । ज्यान गुमाउने मध्ये दुवै जनालाई अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

Khadga Memorial And Janajagriti

ज्यान गुमाउनेमा दुवैजना टीकापुर नगरपालिका–१ का बासिन्दा छन । उनीहरु मध्ये एकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा र अर्का एकको उपचारका लागि लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

उपचारका क्रममा ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–१ ब्लक नं. ९ का १४ वर्षका अनिष खड्का हुन । उनलाई असार २२ गते राति सर्पले टोकेको थियो । घरभित्र सुतेको बेला सर्पले टोकेर बिरामी परेका उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । त्यहाँ उनको उपचार हुन सकेन । अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गर्यो ।

आफन्तले उनलाई नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल त पुर्याए तर बचाउन सकेनन् । उनको असार २३ गते बिहान साढे १० बजेतिर उपचारकै क्रममा ज्यान गयो । उनको बायाँ कानमा सर्पले टोकेको थियो ।

उनले आफूलाई टोकेको सर्पको मोवाइलमा फोटो समेत खिचेर राखेका थिए । तरपनि उनको उपचार हुन सकेन । अस्पतालले ढिलो गरी उपचार भएका कारण बचाउन नसकेको जवाफ दियो ।

टीकापुर नगरपालिका–१ ब्लक नं. १० का कालुसिँह कडायतलाई आफन्तले नेपालगञ्ज पुर्याउनै सकेनन् । उनको साउन २४ गते नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमै ज्यान गयो ।

उनलाई समेत आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । त्यहाँ उनको सामान्य उपचार मात्रै भयो । आफन्तका अनुसार चिकित्सकले सर्पले टोकेको कुरा पत्ता लगाउन सकेनन् ।

सुरुमा त उनको पेट दुखेको थियो । चिकित्सकले पेट दुखेको मात्रै उपचार सुरु गर्यो । केही समय पछि उनको शरीरमा सर्पले टोकेको लक्षण देखा पर्न थाल्यो । त्यसपछि मात्रै चिकित्सकले उनलाई सर्पले टोकेको आशंका गर्यो ।

उनलाई चिकित्सकले उपचारका लागि नेपालगञ्ज रिफर गर्यो । तबसम्म उनको स्वास्थ्य अवस्था निकै कमजोर भैसकेको थियो ।

ज्यान गुमाउने दुवै व्यक्ति सर्पले टोकेको धेरै समय पछि मात्रै उपचारका लागि आएकाले उपचार सम्भव नभएको अस्पतालले जनाएको छ । ‘निकै गाह्रो अवस्था भएपछि मात्रै रिफर गर्छौ’ निमित्त मेसु डा. नविनचन्द्र भट्टले भने–‘नत्र धेरैजसो बिरामी उपचार पछि निको भएका छन ।’

टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि सर्पदंशका बिरामीले करिव एकसय किलोमिटर टाढा रहेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल जानुपर्ने वाध्यता छ । कतिपय बिरामीले त्यहाँ पुगेर उपचारका क्रममा ज्यान गुमाउने गरेका छन भने कतिपयले अस्पताल पुग्नै नपाएर बाटैमा ज्यान गुमाउने गरेका छन ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update