टीकापुर, साउन २७
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री भारी मतान्तरले विजयी भएका छन । उनले प्रतिस्पर्धी प्रकाश बुढाथोकी भन्दा झण्डै चार गुणा बढी मत प्राप्त गरेका छन ।
निर्वाचन समितिका अनुसार खत्रीले १ हजार २०५ मत प्राप्त गरेका छन भने बुढाथोकीले ३७२ मत प्राप्त गरेका छन । हिजो सम्पन्न निर्वाचनमा २ हजार २६८ मत खसेको थियो भने ६९१ मत बदर भएको छ ।
कार्य समितिको सचिवमा भने बुढाथोकी प्यानलका मनिष बलायर विजयी भएका छन । उनी प्रतिस्पर्धी चक्र तिमिल्सिना भन्दा २८ मत बढी ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी लिएको छ । बलायरले ७२९ र तिमिल्सिनाले ७०१ मत पाएका छन ।
त्यस्तै कोषाध्यक्षमा खत्री प्यानलका विश्राम चौधरी ६०३ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी बुढाथोकी प्यानलका हिरासिँह बिष्टले ४७२ र स्वतन्त्र लडेका मोतिसिँह खत्रीले ३१४ मत पाएका छन ।
सदस्यहरुको मत गणना भैरहेको छ । कार्य समितिको उपाध्यक्षमा भने यसअघि नै सृजना शर्मा पण्डित निर्विरोध निर्वाचित भैसकेकी छन । उनी खत्री प्यानलका तर्फबाट उम्मेदवार रहेकी थिईन ।