Hamro Patra
ठगीमा संलग्न महिला पक्राउ

टीकापुर, साउन २६
टीकापुर नगरपालिका–९ बाट एक महिला साउन २२ गते ठगीको आरोपमा पक्राउ परेकी छन । वडाध्यक्ष लौटन चौधरीले दिएको सूचनाका आधारमा ती महिला पक्राउ परेकी हुन । पक्राउ परेकी महिलाका बारेमा इलाका प्रहरी कार्यालय टीकापुरले सोधपुछ गर्यो ।

उनले आफ्नो नाम सीमा थारु बताईन । उनले आफ्नो ठेगाना घोडाघोडी नगरपालिका–२ थापापुर बताईन । उनका श्रीमानको नाम सरोज वैद्य बताईन । उनले बुबा सन्तोष थारु र आमा सिवानी चौधरी रहेको बताईन । उनले आफ्नो माइतीघर कञ्चनपुरको बेतकोट नगरपालिका– ७ लालपुर बताईन । उनले नेपाल राष्ट्रिय मावि बहुमुखी क्याम्पसमा अध्ययनरत रहेको बताईन ।

उनले आफ्नो श्रीमान वैद्य नेपाल प्रहरी भएको बर्ताइन । उनले श्रीमान हुम्लाको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेको बताईन ।

उनले आफू विगत डेढ वर्षदेखी गुड नेवर्स नामक संस्थामा कार्यरत रहेको बताईन । बर्दियाको राजापुर नगरपालिका सिँगाईमा रहेकी ठूलीआमाकी छोरी उर्मिला चौधरी मार्फत संस्थामा आवद्ध भएको बताईन । उनले आफ्नो मासिक तलब १० हजार बताईन । उनले संस्थाको कार्यालय सिँगाईमै रहेको बताईन । उनका अनुसार सो संस्थाका कार्यालय प्रमुख सन्तोष पाण्डे हुन । उनको घर बर्दियाको ताराताल हो ।

प्रहरीले उनले दिएको जानकारी अनुसार खोजी गर्यो । उनले दिएका कुनै पनि जानकारी सही भेटिएनन् । उनले आफ्ना सबै वास्तविक कुरा लुकाईन । ती महिलाले सबै वास्तविक कुरा लुकाए पछि प्रहरीलाई अनुसन्धानमा निकै कठिनाई भयो । जसले गर्दा प्रहरी घटनाको गहिराईमा पुग्न सकेन ।

साँझको बेला उनले टीकापुर नगरपालिकास्थित मुक्त कमैया शिविरमा आफ्नी फुपु बस्ने गरेको बताईन । उनले फुपुसँग आफ्नो ६ महिनाको बच्चा समेत रहेको बताईन । फुपुसँगै बच्चा छोडेर काममा हिँडेको भनेपछि प्रहरी उनलाई गाडीमा राखेर मुक्त कमैया शिविरतर्फ हिड्यो । मुक्त कमैया शिविर पूरै खोज्दा पनि प्रहरीले उनकी फुपुको घर भेटाउन सकेन ।

प्रहरी फुपुको घर नभेटे पछि फर्किने क्रममा थियो । सोही क्रममा उनको मोवाइलमा कल आयो । उनले आफू प्रहरीसँग रहेको बताउँदै छोटो कुराकानी गरेर कल काटिन । प्रहरीले उनको मोवाइल आफूसँग राख्यो । केही समय पछि फेरी कल आयो । प्रहरीले कल रिसिभ गर्यो । उताबाट कुनै पुरुषको स्वर सुनियो । उनले आफ्नी श्रीमतीलाई मोवाइल दिन आग्रह गरे । त्यसपछि मात्रै प्रहरीले उनको बारेमा वास्तविक जानकारी पाउन सफल भयो ।

उनी सीमा थारु नभएर २४ वर्षकी कविता थारु हुन । उनको घर बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुर हो । उनको माईतीघर बर्दियाकै गेरुवा गाउँपालिका–६ मा हो । उनका श्रीमानको नाम सुशील चौधरी हो । उनी ज्याला मजदुरी गर्छन ।

उनलाई सन्तोष पाण्डे भन्ने व्यक्तिले सबैकुरा झुटो बोल्न लगाएको हो । उनले नै गाउँगाउँमा गएर अभिभावकसँग रकम असुल्ने उपाय सिकाएको थियो । थारु र पाण्डेको भेट २०७८ चैत ७ गते राजापुर नगरपालिका टपराको एक होटलमा भएको थियो । उनीहरुबीच चिनजान भयो । पाण्डेले आफू गुड नेवर्सको हाकिम बताए । उनले नै थारुसँग जागिरको प्रस्ताव राखे । थारुले घरसल्लाह पछि मात्रै जवाफ दिन्छु भनिन् ।

उनीहरुको दोस्रो भेट २०७९ जेठ २४ गते भयो । पाण्डेले थारुलाई १० हजार रुपैयाँ दिए । उनीहरुबीच आत्मियता बढ्यो । पाण्डेले नै २०७९ असार ३ गते थारुलाई टीकापुर पुर्याए । उनले अभिभावकबाट कसरी पैसा असुल्ने भन्ने बारेमा सिकाए । प्रत्येक विद्यार्थीबाट ५ सय असुल्ने र सो वाफत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने भनियो । विद्यार्थीबाट यसरी असुलेको रकम राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिने र १५ प्रतिशत ब्याज दिईने आश्वासन दिईयो । आर्थिक अवस्था कमजोर भएका अभिभावकले ऋण कर्ज गरेर भएपनि थारुलाई पैसा दिए ।

यही अनुसार थारुले टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुल्न थालिन । उनले २०७९ असार ५ गते टीकापुर नगरपालिका–८ वनगाउँबाट पैसा संकलन सुरु गरिन । उनले पहिलो दिन संकलन गरेको १२ हजार र २०७९ साउन १९ गते पदमपुरमा संकलन गरेको १५ हजार रुपैयाँ पाण्डेलाई दिएको बताईन ।

प्रहरीका अनुसार उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन । प्रहरीले बैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ । उनले ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए । ‘अझै धेरै व्यक्तिबाट पैसा असुलेको हुनसक्छ’ उनले भने–‘हामी अनुसन्धानको क्रममा छौं ।’

जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले कार्यालय प्रमुख भनिएका पाण्डेको खोजी गरिरहेको छ । यस्ता अन्य थुप्रै महिलालाई प्रयोग गरेर ग्रामीण क्षेत्रमा ठगी भैरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘हामीलाई यो गिरोह नै हो भन्ने लागेको छ’ प्रहरी नायब उपरिक्षक शाहीले भने–‘हामी जरैसम्म पुग्ने प्रयास गरिरहेका छौं ।’

गुड नेवर्सका कैलाली÷बर्दिया इञ्चार्ज रञ्जित चौधरीले घटनामा संलग्न महिला आफ्नो संस्थासँग आवद्ध नरहेको बताए । उनले ती महिलाले भने जस्तो कुनै कार्यक्रम नरहेको जानकारी दिए ।

वडाध्यक्ष चौधरीले यस्ता व्यक्तिहरुबाट सचेत रहन आग्रह गरेका छन । उनले विभिन्न संस्थाका नाममा आउने व्यक्तिहरुका बारेमा सोधीखोजी गरेर शंका लागे खबर गर्न भनेका छन ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update