Hamro Patra
दुर्घटनामा तीन जनाको मृत्यु एक घाईते

टीकापुर, जेठ ५
हिजो भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १ घाईते भएका छन ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–६ बेलुवामा गएराति एक भारतीय नम्बरको मोटरसाइकल विपरित दिशाबाट आईरहेको जीप ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक टीकापुर नगरपालिका–८ बटनपुरका कमल साउँद (२९) रहेका छन ।

उनले चलाएको यूपि ३१ एस ५१७० नम्बरको भारतीय मोटरसाइकल खक्रौलाबाट टीकापुरतर्फ आईरहेको बा १६ च ४७१० नम्बरको जीपमा ठोक्किएको टीकापुर ट्राफिक पोष्टका इञ्चार्ज सई भुवन क्षेत्रीले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनका अनुसार करिव साढे ७ बजेतिर सो मोटरसाइकल एक साइकल यात्रीसँग ठोक्किएपछि अनियन्त्रित भई जीपमा ठोक्किन पुगेको थियो । दुर्घटनामा घाईते भएका साउँदको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

जीपका चालक नन्दराम जैशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । मृतक साउँदको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यसैगरी हिजो नै जानकी गाउँपालिका–४ मुनुवास्थित झबही पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान जानुका साथै अर्का एकजना घाईते भएका छन । घाईते मोटरसाइकल चालक कृष्ण बम (२३) को नेपालगञ्जमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल पछाडी बसेका रामनारायण कठरीया (३२) को घटनास्थलमै ज्यान गएको थियो । प्रहरीका अनुसार तिब्र गतिमा रहेको सो मोटरसाइकल सडक किनारमा रहेको पिल्लरमा ठोक्किएको थियो ।

त्यस्तै भजनी नगरपालिका–३ कुसुमघाटमा तीन पाङ्ग्रे ट्याम्पु पल्टिदा यात्रु बर्दियाको गुलरीया नगरपालिका–४ तुल्सीपुरका गेदुवा थारु (५१) को ज्यान गएको छ । उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा हिजो बाटोमा ज्यान गएको इप्रका भजनीका सई चंखबहादुर कठायतले जानकारी दिए ।

छोरीको घरमा भेटघाटका लागि आएका थारु चढेको से १ ह २७३७ नम्बरको तीन पाङ्ग्रे ट्याम्पु सडकको कल्भर्टमा ठोक्किएर पल्टिएको थियो । ट्याम्पु चालक भजनी नगरपालिका–२ रजवाराका सन्दीप चौधरी (२३) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update