अछाम, साउन २६
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतालामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन । बञ्चरो प्रहार गरेर ४५ वर्षीया श्रीमती मन्नु कामीको हत्या आरोपमा ५४ वर्षका पदम कामी पक्राउ परेका हुन ।
हत्या गरेर साउन ११ गते फरार भएका कामीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी हत्या गरेर राति नै जंगलको बाटो भएर कालिकोट गएका थिए । त्यसपछि त्यहाँबाट जुम्ला, नेपालगञ्ज र कैलाली हुँदै महेन्द्रनगर पुगेका थिए । उनी भारततर्फ भाग्न महेन्द्रनगर पुगेको प्रहरीले बताएको छ ।
महेन्द्रनगर पुगेका उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीले पदमलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले बताए ।