टीकापुर, साउन २४
टीकापुरका पुराना कम्युनिष्ट नेता कालुसिँह कडायतको आज निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको सर्पले टोकेर निधन भएको हो ।
उनलाई घरमै सुतेको अवस्थामा सर्पले टोकेको हुनसक्ने आफन्त (साला) चेतबहादुर बोहराले जानकारी दिए । उनी अस्वस्थ भएपछि उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो । टीकापुर अस्पतालले उनी अस्वस्थ हुनुको कारण पत्ता लगाउन नसकेपछि रिफर गरेको थियो ।
आफन्तले उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमा निधन भएको थियो । बाटोमा उपचारका लागि लैजाने क्रममा निकै असहज भएपछि आफन्तले राजापुरस्थित शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीलाई देखाएका थिए । स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको लक्षण देखिएको बताएको आफन्त बोहराले जानकारी दिए ।
अछामको मेल्लेख गाउँपालिका गवालीमा वि.सं. २०१२ सालमा जन्मेका कडायत लामो समय कम्युनिष्ट आन्दोलनमा रहे । उनी इमान्दार कम्युनिष्ट कार्यकर्ताका रुपमा चिनिन्छन । उनी २०५४ सालको स्थानीय निर्वाचनमा टीकापुर नगरपालिकाको वडा नं. १ मा वडा सदस्यका रुपमा विजयी भएका थिए । वडाध्यक्ष सूर्यचन्द्र भट्टराईले राजिनामा दिएपछि कडायतले कार्यकाल भरी कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनले केही वर्ष शिक्षण पेशा अँगालेका थिए । उनी शिक्षण पेशा त्यागेर कम्युनिष्ट आन्दोलनमा सरिक भएका थिए । नेकपा एमालेमा आवद्ध कडायत कुशल संगठकका रुपमा चिनिन्थे । उनले टीकापुरमा नेकपा एमालेको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यकर्ताहरु सम्झिन्छन ।
उनी हाल टीकापुर नगर कमिटीको सल्लाहकार, जेष्ठ नागरिक मञ्चको सदस्य, शिक्षक संगठनको आजीवन सदस्य रहेका थिए । उनी यसअघि नेकपा एमाले जिल्ला कमिटी कैलालीको सदस्य समेत भैसकेका थिए ।