Hamro Patra
लागुपदार्थ ओसारपसारमा महिला

टीकापुर, साउन २३
कैलालीको पूर्वी क्षेत्रमा लागुपदार्थ ओसारपसारमा महिलाको संलग्नता बढ्न थालेको छ । प्रहरीका अनुसार यस कार्यमा भारतीय सीमा क्षेत्रबाट ल्याउने देखी बिक्री वितरणमा समेत महिलाहरु संलग्न रहेका छन ।

भारतीय सीमा बजार तिकुनीयाँमा घरायसी सामान ल्याउन भन्दै गएका केही महिलाहरुले लागुपदार्थ ओसार्ने गरेको पाईएको छ । उनीहरुले लागुपदार्थ ओसारे वाफत रकम पाउने गरेका छन । प्रहरीका अनुसार महिलाहरुले नै लागुपदार्थ बिक्री गरे वाफतको रकम असुल्ने र भारतीय नागरिकलाई बुझाउने गरेका छन ।

यस्तै कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका–७ दिब्यपुरकी २९ वर्षीया सुवासनी चौधरीलाई साउन २० गते पक्राउ गरेको छ । उनी विगत ५ महिनादेखी यस कार्यमा संलग्न रहेको प्रहरीले दावी गरेको छ । चौधरीले समेत आफू यस कार्यमा संलग्न रहेको स्विकारेकी छन ।

उनले भारतीय नागरिक प्रदिप सरदारबाट लागुपदार्थ खैरोहिरोईन ल्याउने गरेको बताएकी छन । उनले सो सामान टीकापुर र लम्की क्षेत्रका केही व्यक्तिहरुलाई बेच्ने गरेको बताईन । उनले लम्कीकी एक महिलाले पटक पटक आफूसँग खैरोहिरोईन खरिद गरेर लगेको बताईन । उनले टीकापुरमा समेत थुप्रै व्यक्तिहरुलाई बेचेको बताईन ।

उनले प्रहरीसँगको बयानका क्रममा ती कुनैपनि व्यक्तिहरुलाई आफूले नचिन्ने बताएकी छन । ‘मोवाइलमार्फत कुरा हुन्थ्यो । आउथे पैसा बुझाएर सामान लैजान्थे’ उनले प्रहरीसँगको बयानमा भनिन्–‘त्यो भन्दा धेरै चिनजान भएन ।’

उनले धेरैजसो समय भारतीय नागरिकले लागुपदार्थ सीमा क्षेत्रसम्म पुर्याउने गरेको बताईन । पक्राउ परेको दिन भने उनले भारतीय सीमा बजार तिकुनीयाँ नजिकैको बन्दिपुरबाट लागुपदार्थ ल्याएको बताईन । उनले सो दिन ३० ग्राम खैरोहिरोईन लिएर आएको बताईन ।

उनका अनुसार सो दिन भारतीय नागरिक सरदारले बन्दिपुरमै बोलाएका थिए । उनले लागुपदार्थ खुर्सानीको पोका भित्र लुकाएर ल्याएकी थिईन । उनलाई लम्कीबाट एक व्यक्तिले सामान लिएर टीकापुर आउन भनेका थिए । उनी १० ग्राम खैरोहिरोईन बोकेर टीकापुर पुगिन ।

उनले सो सामान हाटबजार नजिकै ती व्यक्तिलाई दिईन र ४० हजार रुपैयाँ बुझिन । लागुपदार्थ खैरो हिरोईन बिक्री वितरण भैरहेको खबर इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी पायो । स्थानीय एक युवकले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए । ती युवक पूर्व दुव्र्यसनी हुन । प्रहरीका अनुसार उनी केही समयदेखी चौधरीको सम्पर्कमा थिए ।

प्रहरीले चौधरीलाई हाटबजार नजिकैबाट पक्राउ गर्यो । उनको साथबाट प्रहरीले ४० हजार रुपैयाँ मात्रै बरामद गर्यो । उनले प्रहरीसँग बाँकी लागुपदार्थ बाटोमा फालेको बताईन । प्रहरीले लागुपदार्थ भेटाउन सकेन ।

पक्राउ परेकी चौधरीसँग लागुपदार्थ बरामद नभएपछि प्रहरीले तारेखमा छोडेको छ । उनले बयानका क्रममा लागुपदार्थ ओसारपसारमा संलग्न रहेको स्विकारे पनि प्रमाण नपुगेकाले छोड्न परेको प्रहरी नायब उपरिक्षक शाहीले बताए । ‘उनले बयानका क्रममा सबै कुरा प्रष्ट भनेकी छन । उनले भने अनुसार अनुसन्धान गर्दा सबै कुरा छर्लङ्ग पनि भएको छ’ उनले भने–‘चौधरीमाथि मुद्दा चलाउने आधार नै भएन ।’

लागुपदार्थ ओसारपसार गरे वाफत महिलाले प्रति ग्राम चार सयका दरले ज्याला बुझ्ने गरेका छन । चौधरीले ३० ग्रामको १२ हजार रुपैयाँ आफूले बुझ्ने र बाँकी रकम भारतीय नागरिक सरदारलाई दिने सहमति भएको बताईन । ‘आफ्नो ज्याला राखेर बाँकी रकम उसलाई बुझाउने सहमति भएको थियो’ उनले भनिन्–‘यसअघिको सामान पनि यसैगरी बिक्री गर्थे ।’

उनले लागुपदार्थ ओसारपसार गरेर कमाएको रकमले गाउँमा घर निर्माण गरेको बताएकी छन । उनका श्रीमान ज्यालादारी काम गर्छन । उनी प्रायः घरबाहिर बस्छन । उनका ११ र ९ वर्षका गरी दुई छोरा छन ।

प्रहरीका अनुसार भारतीय नागरिकले लागुपदार्थ ओसारपसारमा यस्ता अन्य धेरै महिलालाई प्रयोग गर्ने गरेका छन । उनीहरुले लागुपदार्थ लुकाएर ओसारपसार गर्न सहज र इमान्दार हुने भएकाले महिलालाई प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

गतवर्ष लम्की चोकमा फलफूलको ब्यापार गर्दै आएकी शाही थरकी एक महिला खैरोहिरोईन सहित पक्राउ परिन । प्रहरीले अनुसन्धानका क्रममा उनको पूरै परिवार यस कार्यमा संलग्न रहेको पायो । अहिले पनि उनकी बुहारी लागुपदार्थ बिक्री वितरण गरेको आरोपमा जेलमा रहेको बताईएको छ ।

यस्तै टीकापुर नगरपालिका–१ ब्लक नं. ६ की एक महिला लागुपदार्थ ओसारपसार गर्दा गर्दै आफै दुव्र्यसनमा फसिन । उनी खैरोहिराईन सहित पक्राउ परिन ।

टीकापुरमै कष्मेटिक पसल चलाएर बसेकी अर्की एक महिला समेत लागुपदार्थ सहित पक्राउ परिन । प्रहरीले उनी मात्रै नभई उनका श्रीमान समेत दुव्र्यसनमा रहेको पत्ता लगायो । उनीहरु केही समय जेल बसेर रिहा भैसकेको प्रहरीले जानकारी दिएको छ ।

लागुपदार्थ दुव्र्यसन प्रहरीका लागि टाउको दुखाई बनेको छ । धेरै युवायुवती लागुपदार्थ दुव्र्यसनको सिकार भैरहेका छन । प्रहरीका अनुसार जसका कारण समाजमा अपराधिक क्रियाकलाप बढेका छन । प्रहरीलाई लागुपदार्थ दुव्र्यसन रोक्नु निकै चुनौतीपूर्ण भैरहेको प्रहरी नायब उपरिक्षक शाही बताउँछन ।

उनले अभिभावकको लापरवाहीले समेत समाजमा लागुपदार्थ दुव्र्यसनको जालो फैलिएको बताए । ‘अभिभावक नै यस बारेमा गम्भिर छैनन्’ उनले भने–‘प्रहरीको एक्लो प्रयासले लागुपदार्थ दुव्र्यसन रोक्न गाह्रो छ ।’

कैलालीको पूर्वी क्षेत्र लागुपदार्थ दुव्र्यसनको अखाडा बन्दै गएको छ । खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ । सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ ब्यापक मात्रामा लागुपदार्थको कारोबार गर्ने गरेका छन । प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update