Hamro Patra
चुनावी सरगर्मीले तातेको टीकापुर

टीकापुर, साउन २२
कैलालीको टीकापुर यतिबेला चुनावी सरगर्मीले तातेको छ । हरेक जसो जमघटमा चुनावकै चर्चा हुन्छ । विभिन्न सामाजिक संघसंस्थादेखी प्रदेश र संघीय चुनावको जोडघटाउ चर्चाको विषय बन्ने गरेको छ ।

टीकापुर विभिन्न चारवटा सामाजिक संघसंस्थाको निर्वाचनको सम्मुखमा छ । पाँच हजार भन्दा बढी मतदाता रहेको टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चुनाव साउन २६ गते तय भएको छ । संस्थाको नेतृत्वका लागि दुईवटा प्यानल चुनावी मैदानमा छन । आज उम्मदेवारी दर्ता समेत सम्पन्न भैसकेको छ ।

एउटा प्यानलको नेतृत्व वर्तमान सचिव नरेशकुमार खत्रीले गरेका छन भने अर्को प्यानलको नेतृत्व प्रकाशबहादुर बुढाथोकीले गरेका छन । बुढाथोकी टीकापुर नगरपालिका वडा नं. २ का यसअघिका वडाध्यक्ष हुन ।

Khadga Memorial And Janajagriti

उपाध्यक्षमा भने सृजना शर्मा पण्डित निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य रघुनाथ उपाध्यायले जानकारी दिए । निर्विरोध भएकी पण्डित खत्री प्यानलको उपाध्यक्ष रहेको बताईएको छ ।

त्यस्तै सचिवमा खत्री प्यानलबाट चक्र तिमिल्सिना र कोषाध्यक्षमा विश्राम थारुले उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै सचिवमा मनिष बलायर र कोषाध्यक्षमा हिरासिँह बिष्ट र मोतिसिँह खत्रीको समेत उम्मेदवारी परेको छ ।

३ जना आवश्यक खुल्ला सदस्यका लागि ११ जनाको र २ जना महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । खत्री प्यानललाई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्तिको समर्थन रहेको छ भने बुढाथोकीलाई नेकपा एमालेको एक पक्ष र केही अन्य पार्टीका असन्तुष्ठहरुले समर्थन गरेको बताईएको छ । नेतृत्व चयनका लागि संस्थाका ५ हजार ३२५ जनाले मतदान गर्नेछन ।

त्यस्तै अर्को सामाजिक संस्था रेडक्रसको साधारण सभा साउन २५ गते तोकिएको छ । सो साधारण सभाले ३० गते भित्र निर्वाचनको मिति तोक्ने सचिव धर्मराज शर्माले जानकारी दिए ।

रेडक्रसको नेतृत्वका लागि वर्तमान सचिव शर्मा, दत्तबहादुर बिष्ट र चेतमान केसीले दावी गरिरहेका छन । रेडक्रसमा आवद्ध ९३४ जनाले मतदान मार्फत आगामी नेतृत्व चयन गर्ने बताईएको छ । राजनीतिक दलहरुले रेडक्रसमा समेत भागबण्डाको तयारी गरिरहेका छन ।

ब्यापारीहरुको संस्था टीकापुर उद्योग वाणिज्य संघको निर्वाचन समेत नजिकिदै छ । संघले भदौ १० गते २३ औं साधारण सभा र १८ गते निर्वाचनको मिति घोषणा गरेको छ । आगामी तीन वर्षे नेतृत्वका लागि वर्तमान उपाध्यक्ष चक्रपाणी सापकोटा, महासचिव तपेन्द्र स्वाँर र यसअघिको कार्यकालका उपाध्यक्ष राजेन्द्र शाहको चर्चा छ । संघको नेतृत्व चयनका लागि करिव १ हजार १ सय ब्यापारीले मतदान गर्ने बताईएको छ । साउन मसान्तसम्म आफ्नो फर्म नविकरण गर्ने व्यवशायीले मतदानमा भाग लिन पाउने विधानमा व्यवस्था रहेको कार्यालय प्रमुख तर्कराज रिमालले जानकारी दिए ।

सामुदायिक पुस्तकालयको नेतृत्व परिवर्तनका लागि समेत चर्चा भैरहेको छ । पुस्तकालयले भदौ ११ गते साधारण सभाको मिति तोकेको छ । सोही साधारण सभाले एक साता भित्र निर्वाचनको मिति तय गर्ने कोषाध्यक्ष नरेन्द्र कठायतले जानकारी दिए । संस्थामा आवद्ध ८४० जनाले नेतृत्व चयनका लागि निर्वाचनमा सहभागीता जनाउने छन ।

पुस्तकालयको नेतृत्वका लागि भने अहिलेसम्म कसैको सशक्त दावी देखिएको छैन । वर्तमान अध्यक्ष लोकबहादुर खड्कालाई नै सर्वसम्मत रुपमा अघि सार्ने चर्चा चलिरहेको छ । तर केही व्यक्तिहरुले भने नेतृत्व परिवर्तनका लागि प्रयास गरिरहेका छन । त्यहाँ समेत राजनीतिक दलहरुले भागबण्डा गर्ने चर्चा छ ।

यिनै विभिन्न सामाजिक संघसंस्थाहरुको निर्वाचन परिणामले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभाव पार्ने देखिन्छ ।

तस्विरः भरत भण्डारी

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update