टीकापुर, साउन २२
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ । एउटा प्यानलको नेतृत्व वर्तमान सचिव नरेशकुमार खत्रीले गरेका छन भने अर्को प्यानलको नेतृत्व प्रकाशबहादुर बुढाथोकीले गरेका छन । बुढाथोकी टीकापुर नगरपालिका वडा नं. २ का यसअघिका वडाध्यक्ष हुन ।
उपाध्यक्षमा भने सृजना शर्मा पण्डित निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य रघुनाथ उपाध्यायले जानकारी दिएका छन । निर्विरोध भएकी पण्डित खत्री प्यानलको उपाध्यक्ष रहेको बताईएको छ ।
त्यस्तै सचिवमा खत्री प्यानलबाट चक्र तिमिल्सिना र कोषाध्यक्षमा विश्राम थारुले उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै सचिवमा मनिष बलायर र कोषाध्यक्षमा हिरासिँह बिष्ट र मोतिसिँह खत्रीको समेत उम्मेदवारी परेको छ ।
३ जना आवश्यक खुल्ला सदस्यमा ११ जनाको र २ जना महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । खत्री प्यानललाई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्तिको समर्थन रहेको छ भने बुढाथोकीलाई नेकपा एमालेको एक पक्षले समर्थन गरेको बताईएको छ ।
संस्थाको नेतृत्व चयनका लागि यही साउन २६ गते मतदान हुने निर्वाचन समितिका सदस्य उपाध्यायले जानकारी दिए । उनका अनुसार संस्थाका ५ हजार ३२५ जनाले मतदान गर्नेछन ।
२०६७ सालमा स्थापना भएको संस्थाले हाल टीकापुर नगरपालिकाका वडा नं. १ देखी ५ सम्मका ७ हजार ४०६ घरधुरीमा खानेपानी सेवा पुर्याएको छ । संस्थाका अनुसार ४५ हजार जनसंख्याले २४ सैं घण्टा शुद्ध पिउने पानी उपभोग गरिरहेका छन ।
खानेपानी आयोजना नेपाल सरकारको ७० प्रतिशत अनुदान, उपभोक्ताको लागत सहभागीता मार्फत ५ प्रतिशत र नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोगमा सञ्चालनमा आएको हो । करिव ५४ करोडको लागतमा सम्पन्न भएको आयोजनाका चारवटा ओभर हेड ट्यांकी रहेका छन । ती ट्यांकी मार्फत दैनिक ४५ लाख लिटर पानी वितरण हुने गरेको छ ।