टीकापुर, साउन २१
पञ्च वर्षीय व्यावसायिक योजना पारित गर्दै टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं वार्षिक साधारण सभाको बन्द सत्रसम्पन्न भएको छ ।
बन्द सत्रले संस्थाका सचिव नरेशकुमार खत्रीद्धारा प्रस्तुत पञ्च वर्षीय व्यावसायिक योजना पारित गरेको हो ।
संस्थाका अध्यक्ष भैरवसिंह रावलले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन समेत बन्दसत्रले पारित गरेको हो ।
सभाले संस्थाका कोषाध्यक्ष विश्राम चौधरीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको छ ।
लेखा परीक्षण प्रतिवेदनका अनुसार संस्था ६८ हजार ७ शय ५२ रुपैयाँ खुद बचत गर्न सफल भएको छ ।
बन्द सत्रले आर्थिक वर्ष २०७९/०८० का लागि ३ करोड २८ लाख ४१ हजार ९ शय १६ रुपैयाँको अनुमानित आय व्यय विवरण पारित गरेको छ । बन्द सत्रमा टीकापुर नगर क्षेत्रका विभिन्न ब्लक, टोल र मनोनित गरी १ शय २९ प्रतिनिधि सहभागी थिए ।
संस्थाको लेखा परीक्षण प्रतिवेदन अनुसार गैरचालु दायित्व अन्तर्गत गत वर्ष १५ करोड १८ लाख ६ हजार २ शय ३५ रुपैयाँ ऋण सापटी रहेकोमा यस वर्ष १४ करोड २१ लाख ४७ हजार ७ शय रुपैयाँ ऋण सापटी देखिएको छ भने चालु दायित्वतर्फ ५२ लाख ३५ हजार ७ शय ५१ रुपैयाँ रहेको छ ।
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न साउन २६ गते मतदान हुनेछ । निर्वाचन सहायक अधिकृत रघुनाथ उपाध्यायले दिएको जानकारी अनुसार साउन २२ गते आइतवारदेखि निर्वाचनको प्रक्रिया शुरु हुनेछ ।
वडा नं. १ देखि ५ सम्मका ७ हजार ४ शय ६ जना संस्थाका उपभोक्ताहरु छन् ।