Hamro Patra
सिप सिक्दै थारु महिला

योगेश रावल
टीकापुर, जेठ ४
टीकापुर नगरपालिका–५ नुक्लीपुरकी कमला चौधरी (३६) को केहीदिन अघिसम्मको दिनचर्या घरधन्दामै बित्ने गथ्र्यो । उनी हरेक दिन साँझबिहान घरको खाना पकाउने, छोराछोरी स्याहार्ने र गाईवस्तु पाल्नमै दिन बिताउने गर्थिन । उनी निरक्षर हुन ।

एकदिन उनले घर नजिकैको टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटले सिपमूलक तालिम सिकाउँदै छ भन्ने कुरा सुनिन् । त्यहाँ पुगेकी उनले सिलाईकटाई सिक्न थालिन । यतिबेला उनी सिलाईकटाई अन्र्तगत लेभल–१ सिप सिकिरहेकी छन ।

उनी जस्तै थुप्रै थारु महिलाहरु विभिन्न सिपमूलक तालिमतर्फ आकर्षित भएका छन । यतिबेला इन्स्टिच्यूटले सञ्चालन गरेका सिपमूलक तालिममा थारु महिलाको सहभागिता अत्याधिक छ । कुनैबेला घरधन्दामै दिन बिताउने थारु महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भैरहेका छन ।

Khadga Memorial And Janajagriti

सिप सिक्न थालेपछि घरधन्दामै सिमित थारु महिलाहरुमा आत्मविश्वास बढेको छ । उनीहरु जीवनमा आफै पनि केही गर्न सकिन्छ भन्ने अवस्थामा पुगेको बताउँछन । ‘पहिले त कसैसँग बोल्न पनि डर लाग्थ्यो’ कमलाले भनिन्–‘अहिले हिम्मत बढेको छ ।’

यस्ता सिपमूलक तालिममा निरक्षर मात्रै हैन साक्षर थारु महिलाहरुको समेत सहभागिता देख्न सकिन्छ । सोही ठाउँकी तारा चौधरी (२२) ले एसएलसी उत्तीर्ण गरेकी छन । उनले उच्च शिक्षा अध्ययनको यात्रा त्यागेर सिपमूलक तालिमतर्फ मोडेकी छन । ‘धेरै पढ्न आर्थिक अवस्थाले भ्याएन’ उनले भनिन्–‘पहिले सिप सिक्छु आफ्नो खुट्टामा उभियो भने फेरि पढ्नु पर्ला ।’

सिपमूलक तालिम अन्र्तगत सिलाईकटाई थारु महिलाको पहिलो रोजाई बन्ने गरेको छ । धेरै थारु महिलाले सिलाईकटाई सिकेर आफ्नो व्यवशाय समेत सुरु गरिसकेका छन । उनीहरुले लेभल–३ सम्मको तालिम हासिल गरेका छन । ती महिलाहरु जस्तोसुकै लुगा सिलाउन सक्ने भएका छन । ‘एक हजार ५०० महिलाले सिलाईकटाई तालिम लिएका छन’ प्रशिक्षक गीता खड्काले भनिन्–‘ती मध्ये कतिपयले व्यवशाय सुरु गरेर आम्दानी गर्न थालेका छन ।’

इन्स्टिच्यूटले सिलाईकटाई मात्रै हैन अन्य थुप्रै सिपमूलक तालिम सञ्चालन गरेको छ । प्रमुख टेकेन्द्रबहादुर थापाका अनुसार ब्यूटिसियन, कुक, बेमौषमी तरकारी, च्याउखेती, पलम्बर, पशु सहायक र कृषि सहायक लगायत छन ।

ती सिपमूलक तालिम कैलालीका टीकापुर, लम्कीचुहा, घोडाघोडी र भजनी नगरपालिकाका साथै कैलारी गाउँपालिकामा सञ्चालन भैरहेका छन । छुट्टाछुट्टै ५१ समूहमा विभाजित तालिममा १ हजार २० जनाको सहभागिता रहेको छ । ती सबै सिपमूलक तालिममा थारु महिलाको संख्या धेरै रहेको थापाले बताए । ‘करिव ८० प्रतिशत थारु महिलाको सहभागिता छ’ उनले भने–‘यो थारु महिला आत्मनिर्भर बन्न चाहन्छन भन्ने सन्देश हो ।’

घोडाघोडी नगरपालिका–४ सुन्दरपुर गाउँका १८ जना थारु महिलाहरु च्याउखेती सम्बन्धी तालिम लिईरहेका छन । उनीहरुले तालिम पछि सामुहिक च्याउखेतीको योजना बनाएका छन । महिलाहरुले नजिकैको सुखड बजारमा आफ्नो उत्पादन खपत हुने आशा गरेका छन । ‘नजिकै बजार छ । उत्पादन खेर जाँदैन भन्ने विश्वास गरेका छौं’ सीता चौधरीले भनिन्–‘घरधन्दा बाहेकको समय च्याउखेतीमा लगाउने सोच छ ।’

पहिलो पटक गाउँमा सिपमूलक तालिमको अवसर प्राप्त गरेकोमा थारु महिलाहरु निकै खुशी छन । उनीहरुले ३ महिनासम्म ३९० घण्टा च्याउखेतीका बारेमा सिक्नेछन । थारु महिलामा सिप सिक्ने उत्साह देखिएको प्रशिक्षक चक्र चौधरीले बताए ।

सिपमूलक तालिममा सहभागीहरुलाई सम्बन्धित स्थानीय तहका वडा कार्यालयले छनौट गरेको हो । वडा कार्यालयले सिप सिक्नका लागि सूचना सार्वजनिक गरेको थियो । सूचनाकै आधारमा अधिकांश थारु महिलाहरु सम्पर्कमा आएको प्रमुख थापा बताउँछन । ‘सूचना त सबैका लागि थियो तर अधिकांश थारु महिला मात्रै आए’ उनले भने–‘थारु महिला सिप सिक्न चाहन्छन ।’

थारु महिलाको सिपमूलक तालिमतर्फको आकर्षणले राम्रो सन्देश दिएको छ । कुनै समय अर्काको घरमा कमैयाँ बसेका थारु महिलाहरु यतिबेला सिप सिकेर आत्मनिर्भर बन्न खोज्नु सुखद पक्ष भएको पत्रकार महासंघ कैलालीका उपाध्यक्ष सञ्चारकर्मी दुर्गा देवकोटा बताउँछिन । उनी थारु महिलाको सोचमा आएको परिवर्तनले अन्य समुदायका महिलामा समेत यसको सकारात्मक असर पुग्ने बताउँछिन ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update