Hamro Patra
छाडा चौपायाका कारण किसानलाई हैरानी

टीकापुर, साउन २०

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ का श्यामसुन्दर चौधरीले यस वर्ष जसोतसो दुई बिघा जग्गामा धान रोप्नुभएको छ । समयमै मल नपाउँदाको पीडा र समयमा वर्षा नहुँदा सिँचाइका लागि पाएको दुःख नमेटिदै छाडा चौपायाका कारण समस्या भएको छ । उनको एक बिघामा लगाएको धान छाडा चौपायाले एक रातमै सखाप पारे ।

CMA Staff

‘भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपायाले खाएर सिध्याए’ चौधरीले भने ‘किन खेती लगाएछु जस्तो लागिरहेको छ । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।’ प्राकृतिक प्रकोपले क्षति गर्दा सबैको हुने भएकाले चित्त बुझाउने ठाउँ रहने उल्लेख गर्दै उनले चौपायाले दिएको दुःख खेपनसक्नुको भएको पीडा सुनाए ।

सोही ठाउँका राजाराम चौधरीको समस्या पनि उस्तै छ । वर्षभरिका लागि खान पुग्ने खेत एकै दिनमा छाडा चौपायाले सखाप पार्न थालेपछि उनले खेतमा तारजालीले घेरबारसमेत गरेको बताए । चौपायाले सताउन थालेपछि राजारामले खेतको मुख्य भागमा घेरबार गरे । ‘घेरबार गरे पनि खेती जोगाउन सकिएको छैन’ उनले भने ‘अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । हिउँदमा भए खेतमै बस्न पनि सकिन्थ्यो । बर्खाको समयमा खेतमा चौपायाको रेखदेखका लागि रातभर बस्न सक्ने अवस्था पनि छैन ।’

कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रका किसानका लागि छाडा चौपाया समस्या बन्दै गएका छन् । चौपाया व्यवस्थापनका लागि प्रायः सबै स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । चौपायाका कारण किसानमात्रै नभई व्यापारी पनि हैरान छन् । भजनी नगरपालिका-१ मा दूध डेरी सञ्चालन गर्दै आएका मनु खत्रीले साँझ पसल बन्द गर्दासम्म पसलको आँगन निकै सफा हुन्छ । तर बिहान पसल पुग्दा उनको आँगनमा चौपायाको मलमूत्रमात्रै हुन्छ । ट्रस्ट भएका कारण बजारभरिका चौपाया त्यहीँ केन्द्रित हुन्छन् ।

चौपायाले बजार क्षेत्र र सडक नै जाम गरेर बस्दा त्यसले दुर्घटनाको जोखिम समेत बढाएको छ । बस चालक कुमार क्षेत्री छाडा चौपायाका कारण दुर्घटनासमेत बढेको बताउँछन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी चौपायाको समस्या समाधान गर्न योजना नै बनाउनुपर्ने बताए । ‘एउटा पालिकाले व्यवस्थापन गरेर मात्र हुन्न, सबैले गर्नुपर्छ’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update