Hamro Patra
बाघको छाला सहित चार जना पक्राउ

धनगढी, साउन २०
बाघको छाला र हड्डी सहित चार जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु गोदावरी नगरपालिका–२ तेघरी नजिकबाट पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन ।

CMA Staff

उनीहरुको साथबाट बाघको टाउकोदेखी पुच्छरसम्मको छाला र २ केजी जति हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए ।

उनका अनुसार बाघको छाला ओसारपसार भैरहेको सूचनाका आधारमा आरईटी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु राति सवा १२ बजेतिर पक्राउ परेका हुन ।

उनीहरु सबैजना सु.प.प्र. ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा सवार थिए । डोटीको बुडरबाट अत्तरीयातर्फ आईरहेको जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागी चेकजाँच गर्ने क्रममा बाघको छाला र हड्डी बरामद भएको डिएसपी जोशीले बताए । पक्राउ परेका ओली जिपका चालक हुन ।

उनीहरु सबैलाई घटनाका बारेमा सोधपुछ भैरहेको बताईएको छ । उनीहरुले कैलालीको फल्टुडेमा बाघको छाला र हड्डी सहित पक्राउ परेका रावतद्वय चढेको बताएका छन । डिएसपी जोशीले पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाउने पहल भैरहेको जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update