Hamro Patra
करोडभन्दा बढीको सुन चोरेको आरोपमा थप ३ पक्राउ

टीकापुर, साउन १९

भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका लामिछानेलाई बिहीबार कैलाली ल्याइएको छ ।

CMA Staff

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए ।

भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको डीएसपी जोशी बताउँछन् । यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्राविधिक सहयोगका लागि विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली कैलाली आइपुगेको पुष्टि गरे । टोलीमा को को छन् भन्ने खुलाउन भने एसपी राठौरले अस्वीकार गरेका छन् । ‘विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हामीलाई प्राविधिक सहयोग गरिरहेको छ । विस्तृत विवरण अहिले नै दिन मिल्दैन्,’ एसपी राठौरले भने ।

प्रहरी स्रोतका अनुसार कैलाली प्रहरी विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा सक्रिय थियो । विशेष अनुसन्धान ब्युरोको टोली पनि केही समय अघि कैलाली पुगेर फर्किएको थियो । प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update