Hamro Patra
युरियाको बोरा भित्र चिनि तस्करी

टीकापुर, साउन १८

कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट युरिया मलको बोराभित्र चिनी तस्करी हुने गरेको खुलासा भएको छ ।

सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजश्व टोलीले टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्टाबाट गएराति युरिया मलको बोराभित्र राखेर नेपाल ल्याउन लागिएको चिनी बरामद गरेपछि सो खुलासा भएको हो ।

CMA Staff

टोलीले बाहिर युरिया मल लेखिएको १५ बोरा चिनी बरामद गरेको छ । गएराति साढे १२ बजेको समयमा तस्करहरुको एक समूहले युरिया ल्याउने बाहनामा चिनी भित्र्याई रहेको सूचना पाएपछि गएको टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा डन्लप, गोरु गाडा बरामद गरेको बिओपी खक्रौलाका इञ्चार्ज धनबहादुर सिंहले बताए ।

सिंहका अनुसार तस्करीमा संलग्न एक गिरोहले मलको बोराभित्र राखेर चिनी ल्याउने गरेको सूचनाका आधारमा बरामद गरिएको बताए ।

भन्सार छली गरेर सामान नेपाल भित्र्याउने गरेकोले समेत भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताइन्छ ।

साउनको दोस्रो हप्तासम्म सत्ती भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गतवर्षको साउन महिनामा मात्र १ करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रिने भए पनि भन्सारबाट कपडा नगन्य मात्रामा भित्रिरहेको छ ।

नेपालमा खेतबारीमा प्रयोग गरिने युरिया, डिएपी लगायतका मलखादको अभाव देखिएपछि किसानहरुले सीमा क्षेत्रबाट मल ल्याउने गरेका थिए । मलको बोराभित्र चिनी भेटिएपछि सुरक्षा चेकजाँचमा कडाई गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update