टीकापुर, साउन १७
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन् ।
यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहि आएको छ ।
थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने ‘गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहिआएको छ ।’ यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उनले बताए ।
यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ। यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ ।