टीकापुर, साउन १६
टीकापुर क्षेत्रको आर्थिक गतिविधि बढाउन क्षेत्र ‘घ’ सम्मेलन सहयोगी बन्ने टीकापुर क्षेत्रका बैंकर्सहरुले बताएका छन् । टीकापुर जेसीजको आतिथ्यतामा भदौ २४ र २५ गते टीकापुरमा हुने क्षेत्र ‘घ’ सम्मेलनको तयारीका लागि आज गरिएको छलफल कार्यक्रममा सहभागी बैंकर्सहरुले सो कुरा बताएका हुन् ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार बढी युवाहरुको सहभागिता हुँदा यस क्षेत्रको आर्थिक गतिविधि बढ्ने उनीहरुले बताएका हुन् ।
एभरेष्ट बैंक टीकापुरका शाखा प्रबन्धक विनोद शाहले टीकापुरमा हुने सम्मेलन सफल बनाउन संस्थागत र व्यक्तिगत सहयोग गर्नुपर्ने बताए । ‘टीकापुर शान्त छ भन्ने सन्देश दिन समेत कार्यक्रमले मद्दत गर्नेछ’ शाहले भने ‘देशभरका युवा जेसीजहरु यहाँ आइरहँदा यो हाम्रो पनि दायित्व हो, यसलाई सफल बनाउन सबैले सहयोग गरौं ।’
हिमालयन बैंकका शाखा प्रबन्धक देव अग्रवालले ठूलो संख्यामा युवाहरु टीकापुरमा आउनु सुखद् भएको बताउँदै टीकापुरमा लगानी बढाउने वातावरण बनाउन समेत आग्रह गरे । ‘दुई चार करोडको आर्थिक कारोवार हुने कार्यक्रमले आर्थिक गतिविधि बढ्छ’ उनले भने ‘सम्मेलनका माध्यमबाट यस क्षेत्रमा लगानी बढाउन समेत मद्दत पुग्छ ।’
कार्यक्रममा बोल्दै क्षेत्र ‘घ’ सम्मेलनका निर्देशक नवराज रावलले सम्मेलनलाई सक्दो सहयोग गर्न आग्रह गरे । उनले भने ‘यो हामी सबैको दायित्व हो, २१ वर्षपछि टीकापुरमा सम्मेलन हुँदैछ, त्यसकारण हामीले सबैले सकेसम्म बढी सहयोग गरौं ।’
सम्मेलनमा नवलपरासीदेखि पश्चिमको महाकालीसम्म ५५ शाखाका १ हजार बढी अतिथिहरु सहभागी हुनेछन् ।
टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रबन्ध सुशील ओझा, सेञ्चुरी कमर्सियल बैंकका शाखा प्रबन्धक ललित ढुंगाना, सानिमा बैंक टीकापुरका शाखा प्रबन्धक लोकमणी थापा, प्रभु बैंकका शाखा प्रबन्धक बेदप्रकाश पन्त सहभागी थिए ।
त्यस्तै एनआइसी एसिया बैंकका शाखा प्रबन्धक अर्जुन भट्ट, सनराइज बैंक टीकापुरका शाखा प्रबन्धक हिक्मत ठकुल्ला, सिद्धार्थ बैंक टीकापुरका हर्क भण्डारी, महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक खगेन्द्र बहादुर साउँद, नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक कैलाश भुषाल लगायतको सहभागिता रहेको थियो ।