टीकापुर, साउन १६
जब आकाशमा कालो बादल मडारिन्छ तब कर्णाली नदी किनारका बासिन्दालाई निद्रा पर्दैन । उनीहरु कतिबेला बस्तीतिर कर्णाली फर्किन्छ भन्ने त्रासमा रात बिताउँछन । यो नदी किनारका बासिन्दाको वर्षेनीको समस्या हो । उनीहरु हरेक वर्षायाममा यसरी नै रात बिताउन वाध्य छन ।
कर्णाली नदीले कैलालीको पूर्वी भेगमा हरेक वर्ष बितण्डा मच्चाउछ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका केही बस्ती नदीको बितण्डाका सिकार हुने गरेका छन । बितण्डामा कतिले ज्यान गुमाउँछन कतिले खाद्यान्न, लत्ताकपडा, चौपाया लगायत गुमाउँछन । कैयौं विगाह खेतीयोग्य जमिन वर्षेनी बगरमा परिणत भैरहेको छ ।
हरेक वर्ष कर्णाली नदीको बहाव बस्तीतर्फ बढिरहेको छ । कतिपय बस्ती बाढीको उच्च जोखिममा छन । खासगरी टीकापुर नगरपालिकाका शाहीपुर, सिमरेनी, सत्ती, सूर्यपुर, बटनपुर, वनगाउँ, फाँटा लगायतका बस्ती उच्च जोखिममा छन । त्यहाँका सयौं घरपरिवार बाढीको त्रासमा बाँच्न विवश छन ।
‘प्राय हरेक रात त्रासमै बित्छन’ टीकापुर नगरपालिका–८ वनगाउँका आशाराम चौधरीले भने–‘बाढीसँगै बाँच्नु हाम्रा लागि नियती नै भैसक्यो ।’
गतवर्ष टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले बाँध भत्कायो । नदीले वडा नं. ५, ६, ७ र ८ का केही बस्तीमा क्षति पुर्यायो । केही घर भत्किए । सयौं विगाह धान खेती नष्ट भयो । किसानले खेतमा काटेर राखेको धान समेत स्याहार्ने मौका पाएनन् ।
यसवर्ष नदीले भत्काएको ठाउँमा रोकथामको प्रयास गरिएको छ । तर त्यो प्रभावकारी नभएको स्थानीयको गुनासो छ । उनीहरु फेरी पनि नदीले सोही ठाउँमा भत्काउने खतरा रहेको बताउँछन । नदीमा पानीको सहत बढ्दै गर्दा शाहीपुरको बाँध फेरी भत्किने त्रास स्थानीयमा छ ।
‘त्यहाँ भरपर्दो रोकथाम भएकै छैन’ टीकापुर नगरपालिका–७ सत्तीका आकाश विकले भने–‘यो वर्ष पनि फेरी उस्तै दुःख पाईने निश्चित छ ।’
शाहीपुरको भन्दा ठूलो खतरा सनकट्टीमा देखिएको छ । नदीको पूर्वतर्फ बर्दियाको भूभागमा तटबन्ध गरिएको छ । सो तटबन्ध निर्माणका क्रममा नदीको बहावलाई पश्चिमतर्फ फर्काईयो ।
तटबन्ध निर्माणको काम सम्पन्न भएपछि नदीको बहावलाई यथावत रुपमा फर्काउनु पर्ने हो । तर त्यसो गरिएन । अहिले नदी पश्चिम तर्फ बगिरहेको छ । नदीको बहावलाई यथावत रुपमा फर्काउन स्थानीयले दवाव समेत दिएका थिए । निर्माण पक्षले स्थानीयको दवावलाई वेवास्ता गर्यो ।
‘हाम्रो कुरा कसैले सुन्दै सुनेन । जबरजस्ती नदी पश्चिम तर्फ फर्काईयो’ टीकापुर नगरपालिका–२ राजीपुरका रणबहादुर धामीले भने–‘यसले हामीलाई ठूलो संकट निम्त्याउने देखिन्छ ।’
चिसापानी पुगेपछि कर्णाली नदी मुख्य गरी दुई भागमा बाँडिएको छ । एउटा बर्दियाको कोठियाघाट हुँदै र अर्को बर्दिया र कैलालीको सिमाना हुँदै बग्छ । त्यस बाहेक अन्य थुप्रै स–साना भँगलाहरु पनि छन ।
२०६४ साल अघिसम्म नदीको अधिकांश बहाव कोठियाघाट तर्फ थियो । सो वर्ष आएको बाढीले नदीको बहावलाई पश्चिमतर्फ फर्कायो । कुनैबेला वर्षको ३ महिना मात्रै डुङ्गा चल्ने बर्दिया र कैलालीको सिमानामा त्यसपछि बाह्रै महिना डुङ्गा चल्ने गरेको छ ।
यसरी नदीको बहाव एकाएक पश्चिमतर्फ मोडिनुको मुख्य कारण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन हो । पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्जले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ भने पश्चिमतर्फ अनियन्त्रित रुपमा उत्खनन भैरहेको छ । जसका कारण नदीको बहाव वर्षेनी पश्चिमतर्फ बढिरहेको छ ।