इन्द्रसरा खड्का
अछाम, साउन १६
दही खान्या दर्नाली राजा भैसा सुतारीका
कोही छैन बाबुको छोरो सबै मतारीका
यो देउडा गीत हो । यो गीतले सुतार भैंसीको लागि कति प्रख्यात ठाउँ हो भन्ने जनाउँछ । कुनै बेला भैंसी निकै पालिने र दही, दुध, घिउ प्रशस्त पाइने ठाउँ हो सुतार । पहिलेको सुतार गाविस अहिले अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ मा पर्छ ।
अछाम जिल्लालाई पहिले नौखुवाको नामले चिनिन्थ्यो । नौखुवाको सबैभन्दा धेरै भैंसी पालिने क्षेत्र सुतार हो । त्यहाँका नागरिकको मुख्य पेशा भनेकै भैंसी पालन थियो । लेकमा खर्क लगाउने, भैंसी पाल्ने र आलु खेती गरेर सुतारका नागरिकले जीविकोपार्जन गर्थे । यसैलाई आधार मानि स्थानीय बासिन्दाले देउडा गीत समेत बनाएका थिए । तर, आजभोलि त्यस्तो छैन । पहिले दही, घिउका लागि प्रख्यात यो ठाउँमा आजभोलि भैंसी देखिनै छोडेको छ ।
सुतारका नयनसिंह भण्डारी सानो छँदा उनका बुबाले २०/२२ वटा भैंसी पालेका थिए । घरपरिवारका सबै भैंसी लेकमा चराउने, घाँस काट्ने गर्थे । नयनसिंहले पनि आमाबुबासँगै भैंसीको गोठालो जान, घाँस काट्न सानैदेखि सिके । हुर्कंदै जाँदा ती भैंसी पाल्ने जिम्मा उनकै काँधमा आयो । उनले पनि जानेको काम यही थियो ।
गाउँमा धान, गहुँ फल्ने खेतबारी थिएन । अलि अलि भएको बारीमा मकै लगाइन्थ्यो । बाँकी खेती भनेको आलु हो । खानामा पनि मकैको रोटी, आलुको तरकारी र दही, दुध हुन्थ्यो । चामलको भात खान दशैं तिहार आउनुपथ्र्यो ।
नयन सिंहले घाँस काट्ने, भैंसी चराउने गरेरै बाल्य तथा युवावस्था बिताए । यद्यपि उनलाई सधैंभरि घाँस काटेर भैंसी पालेर बस्न मन भने थिएन । यो भन्दा अरू नै केही काम गर्ने इच्छा थियो तर गाउँमा उनलाई मिल्ने केही काम थिएन ।
नयन सिंह भारत गए । त्यहाँ केही वर्ष चौकीदारको काम गरे अनि गाउँ फर्की फेरि भैंसी पाल्न शुरू गरे । ‘जति काम गरे पनि अरूको ठाउँमा आफ्नो गाउँ जस्तो नहुने रहेछ । केही वर्ष भारतमा चौकीदारी गरें र फर्केर घरमै आएँ । अनि फेरि भैंसी पाले’ नयन सिंहले भने ।
सिंह पञ्चायत कालमा सुतार गाविस वडा नम्बर ६ को वडाध्यक्ष पनि बने । वडाध्यक्ष हुँदा समेत भैंसी पालनलाई निरन्तरता दिए । जिन्दगीको अधिकांश समय खर्कमा बिताएका ८५ वर्षीय सिंहले अहिले पनि एउटा भैंसी पालेकै छन् ।
‘बाजे, बुवाले २०/२२ वटा सम्म भैंसी पाले । मैले पनि १० वटा सम्म पालेकै हो । अब भने मान्छेले भैंसी पाल्न छोडे । कोही विदेश पसे, कोही
तराइ झरे, यहाँ भएकाहरूले पढ्न-लेख्न थाले । अब त गाउँमा भैंसी पाउनै गाह्रो हुने भइसक्यो’ सिंहको कथन छ ।
नयन सिंहको जस्तै सुतारका अरू परिवारको अवस्था पनि उस्तै थियो । प्रत्येक घरमा १५/२० वटा भैंसी हुन्थे । दही, घिउको लागि प्रख्यात सुतारमा घिउ किन्नेहरू आउँथे । तर, आजभोलि गाउँमा घिउ नै पाइँदैन ।
सुतारकी सरस्वती भण्डारी बिहे गरी आउँदा सासु ससुराले धेरै भैंसी पालेका थिए । उनको दैनिकी ती भैंसीको स्याहार-सम्भारमै बित्थ्यो- साँझ-बिहान घाँस काट्ने, दिनभरि भैंसी चराउने । सासु ससुरापछि आफ्नो पालामा उनले पनि भैंसी पाले । पछि उनको श्रीमान् भारत गए । श्रीमान् भारततर्फ लागेपछि सात सन्तान हुर्काउने जिम्मा उनले एक्लैले लिनुपर्ने भयो । अर्कोतिर गोठमा भएका भैंसीको स्याहार-सम्भार छँदै थियो । पछि अर्को छोरा पनि भारत गए । अहिले भने उनले पनि भैंसी पाल्न छोडेकी छन् । ‘छोराछोरी कोही यता पढ्दै छन्, कोही भारतमा छन् । घाँस काट्ने, चराउने मान्छे नै छैन, त्यसैले भैंसी पाल्नै छोड्दिएँ’ भण्डारीले भने ।
आधुनिकताको प्रभाव पर्यो
पहिले गाउँमा विद्यालय थिएन । विद्यालय जानुपर्छ, लेखपढ गर्नुपर्छ भन्ने ज्ञान पनि धेरैलाई थिएन । भैंसी पाल्नु, गोठालो जानु नै काम हो भन्ने लाग्थ्यो । विस्तारै समय फेरिंदै गयो । गाउँमा विद्यालय खुले, लेखपढ गर्नुपर्छ भन्ने थाहा भयो । त्यसपछि सुतारका नागरिकले पनि छोराछोरीलाई विद्यालय पठाउन थाले । विद्यालय जान थालेपछि दिनभरि केटाकेटी विद्यालयमा हुन थाले ।
विस्तारै बाटाघाटा खुल्न थाले । कोही पढ्न त कोही कामको सिलसिलामा बाहिर जान थाले । बाहिरी संसारसँग सम्पर्क बढ्न थाल्यो । अनि कामको प्रकृति विस्तारै परिवर्तन हुँदै गयो ।
यी विभिन्न कारणले भैंसी पालन कम हुँदै गएको सुतारका वडाध्यक्ष तप्त भण्डारी बताउँछन् । ‘मैले पनि दश वटा भैंसी पालेर गोठालो लागेको थिएँ । तर, आज मेरो घरमा एउटै भैंसी छैन । समय फेरिंदै गयो, कोही विदेश जान थाले, कोही लेखपढ गर्न थाले । भैंसी पालेर गोठालो लाग्न अब कसैलाई मन पर्दैन’ वडाध्यक्ष भण्डारी भन्नुहुन्छ ‘हाम्रो वडामा करिब सात सय घरपरिवार छन् । यीमध्ये अधिकांश परिवारका सदस्य भारतमा छन् । सात सयमध्ये एक सय परिवारका युवा मात्र घरमा होलान्, ती पनि गाउँमै जागिर भएका । नभए त एउटै घरको तीन/चार जनासम्म भारतमा छन् । अब खेतीपाती गर्ने, भैंसी, गोरु पाल्ने कामले प्राथमिकता पाउनै छाड्यो ।’
बजार नहुँदा समस्या
सुतारीले जति भैंसी पाले पनि बजार नजिक थिएन । अहिले पनि दुध, दही लगेर बेच्न मिल्ने बजार छैन । पहिले घिउ बेच्न मंगलसेन, साँफे जाँदा मूल्य व्यापारीले नै तोकिदिन्थे । ‘५/६ घण्टा हिंडेर घिउ बोकेर बजार गए पनि आफूले मूल्य तोक्न नपाउँदा सस्तोमै बेच्नुपथ्र्यो । यस्तै यस्तै समस्याले पनि सुतारीले भैंसी पाल्न छोडे’ वडाध्यक्ष भण्डारीले भने ।
एउटै भैंसीले परिवारलाई दुध, दही, घिउ, मही खान पुग्छ । एक भन्दा बढी भैंसी हुँदा दुध खेर जाने डरले दही बनाएर मोही पारी घिउ बनाउने, मही सकेको खाने नभए फाल्ने गरिन्थ्यो भने अहिले पनि दुध, दही बिक्री गर्ने बजार छैन । त्यो वेला घिउ राजापुरसम्म लगेर बेच्थ्यौं’ नयन सिंहले बजार अभावको पीडा सुनाए ।