टीकापुर, साउन १५
सुदूरपश्चिम प्रदेश सभाको आइतबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ ।
अपरान्ह ३ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। अर्को बैठक साउन १८ गते बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए ।
उनका अनुसार आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो ।
सो विधेयकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रदेश सभा सदस्यहरुको विमति रहेको छ । अघिल्लो बैठकमा विधेयकमाथि सामान्य छलफलमा भाग लिनु भएका प्रदेश सभा सदस्यहरुले विधेयकलाई फिर्ता लिन सरकारलाई सुझाव दिएका थिए ।
फलस्वरुप, विधेयकमा सहमति जुटाउनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल चलिरहेको जनाइएको छ । उक्त बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरेको बुझिएको छ ।