योगेश रावल
टीकापुर, जेठ १
मोहन्याल गाउँपालिका–७, कचालीस्थित उज्यालो शिक्षा सदन (विद्यालय) को आफ्नै वर्तमान अवस्था भने निकै अध्यारो छ । स्थानीयको पहलमा २०५४ सालमा स्थापना भएको विद्यालय अहिलेसम्म सरकारी निकायमा दर्ता समेत हुन सकेको छैन ।
यो कैलाली जिल्लाको पहाडी भूभाग हो । कर्णाली नदी किनारमा अवस्थित कचाली गाउँ भौगोलिक रुपमा निकै विकट छ । यहाँका बासिन्दाको आर्थिक अवस्था समेत निकै निम्न छ । नदी किनारको बस्ती भएपनि खेतीपाती छैन । यहाँका मान्छे ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन । केही व्यक्तिहरु रोजगारीका लागि भारत पसेका छन ।
६४ घरधुरी रहेको कचाली गाउँ नजिकै घना जंगल छ । त्यही जंगलको एक कुनामा काठले बेरेको सानो टहरा छ । टहराको भित्तोले घामपानी केही रोक्दैन । यही टहरामा विद्यालय सञ्चालन भैरहेको छ । टहरा भित्रको भित्तामा एकथान ‘ह्वाइट बोर्ड’ छ । विद्यार्थी बस्नका लागि बेञ्च टेबल केही छैन । भुईमा बस्नका लागि बोरा बिछ्याईएको छ ।
४५ जना विद्यार्थी यही टहरामा आफ्नो भविष्य खोज्दैछन । विद्यालय कक्षा ३ सम्म विभाजन गरिएको छ । तर शिक्षिका एउटै छिन । स्थानीय तुलसादेवी माझी २ वर्षदेखी न्यून पारिश्रमिकमा पढाईरहेकी छन । उनी पढाए वाफत मासिक २ हजार पाउँछिन । वडा कार्यालयले पारिश्रमिकको व्यवस्था गरिदिएको छ ।
‘मेरो उद्देश्य बालबालिकालाई अक्षर चिनाउने पनि हो’ शिक्षिका माझीले भनिन्–‘पढ्न लेख्नबाट बच्चाहरु बञ्चित हुनु हुँदैन भन्ने सोचेर विद्यालय सम्हालेकी छुँ ।’
उनी भन्दा अघि स्थानीय डम्मरबहादुर भूल पढाउँथे । उनले डेढ वर्ष निशुल्क पढाए । विद्यार्थीको भविष्य बनाउने क्रममा आफ्नै भविष्य अन्धकार हुने देखेपछि उनले पढाउन छोडे ।
शिक्षिका माझी दुई वर्षको दूधे बालक काखी च्यापेर विद्यालय पुग्छिन । उनले यसरी काम गरेको घरपरिवारलाई निको लागेको छैन । उनको कमाईले घरखर्च समेत धान्दैन । तैपनि उनी बालबालिकाको भविष्य प्रति चिन्तित छन ।
एक जनाले यतिधेरै बालबालिका सम्हाल्नु निकै कठिन छ । जंगल नजिकै भएका कारण वन्यजन्तुको समेत डर छ । उनले जेनतेन बालबालिकालाई सम्हालेकी छन । ‘मैले कति मेहनत गरेको छुँ । त्यो मलाई मात्रै थाहा छ’ उनले भनिन्–‘कुनैदिन मैले गरेको मेहनतले फल पाउने विश्वासमा छुँ ।’
गाउँका अन्य ६० जना बालबालिका मोहन्याल गाउँपालिकाकै कुईने पढ्न जान्छन । कुईने कचालीबाट करिव ३ किलोमिटर दूरीमा छ । कर्णाली नदी किनारको पहाडी बाटो निकै जोखिमपूर्ण छ । ती बालबालिकालाई कुईनेस्थित अरनिको आधारभूत विद्यालय पुग्न डेढ घण्टा लाग्छ । उनीहरु समेत कक्षा ८ भन्दा माथि पढ्नका लागि कुईनेबाट थप एक घण्टा टाढा बडिगाउँ स्कुल जान्छन ।
विद्यालय पुग्न निकै कठिन हुने अरनिको आधारभूत विद्यालय कुईनेमा कक्षा ७ मा अध्ययनरत कचालीका नविन जैशी (१४) ले बताए । उनले वर्षाको समयमा कैयौं दिन लडेर चोटपटक समेत लाग्ने गरेको सुनाए । ‘विद्यालय जानेआउने क्रममा लडेर कतिका हातखुट्टा भाँचिएका छन’ उनले भने–‘गाउँमा विद्यालय छैन । अरु विकल्प पनि छैन ।’
आफ्ना बालबालिकाहरुले भोगेको यही समस्याले थिचेपछि अभिभावक विद्यालय स्थापनाका लागि अग्रसर भएका हुन । उनीहरुले कम्तिमा सानो उमेरका बालबालिकाहरुले मात्रै भएपनि शिक्षाआर्जनका लागि टाढा जान नपरोस् भनेर विद्यालय स्थापना गरेको बताए ।
‘सानो उमेरका बच्चाहरु त्यती टाढा पढ्न जान सक्दैनन् भनेर विद्यालय स्थापना गरेका हौं’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भूलले भने–‘अहिलेसम्म न दर्ता हुन सक्यो न भौतिक पूर्वाधार विकास गर्न सकियो ।’
विद्यालय दर्ताका लागि स्थानीयले निकै प्रयास गरेका हुन । उनीहरुले पटक पटक जिल्ला शिक्षा कार्यालय कैलालीमा निवेदन समेत दिए । तर उनीहरुका पक्षमा बोलिदिने कुनै अगुवा भेटिएन । जसका कारण यो विद्यालयको अवस्था जस्ताको त्यस्तै रह्यो । अध्यक्ष भूलका अनुसार ढिलै भएपनि आगामी शैक्षिक सत्रबाट स्विकृतीको तयारी भैरहेको छ ।
स्थानीयले स्विकृती पाएपछि भौतिक संरचना बढाउने बारेमा समेत सोच बनाएका छन । उनीहरुले विद्यालयको भवन निर्माणका लागि नदी किनारमा ढुंगा र बालुवा संकलन गरेर राखेका छन । ‘पहिले स्विकृतीको प्रयासमा छौं’ अध्यक्ष भूलले भने–‘स्विकृत भैसकेपछि केही भौतिक संरचना निर्माण गर्छौ ।’
आफ्ना बालबालिकाको भविष्य प्रति कचालीका बासिन्दा निकै चिन्तित छन । उनीहरु बालबालिकाले राम्रोसँग पढ्न नपाएको दुःखीत छन ।