Hamro Patra
मेयर साप तपै यता कहिले आउनुहुन्छ ?

टीकापुर, साउन १३

टीकापुरको मुख्य बजार क्षेत्रमा चारवटा चोक छन्, बलभद्र चोक, भिमसेन चोक, सिद्धार्थ चोक र महाकवि लक्ष्मीप्रसाद देवकोटा चोक । योजनाबद्ध शहर विकसित गर्ने गरी प्लानिङ गरिएको बजार क्षेत्रका ती चोकहरु खुल्ला स्थान हुन् । बजार क्षेत्रमा हुने भिडभाँड कम गर्न र भुकम्प लगायतका प्रकोप आए मानिसहरु जम्मा हुन् ती चोकहरु बनाइएको हो । यस्ता चोकहरुले शहर र बस्तीको सुन्दरता बढाउँछन् ।

केही वर्ष पहिलेसम्म एकनास इट्टाले छापिएका थिए । त्यहाँ कुनै घाँस हुन्थेन, फोहोर हुन्थेन । टीकापुर बजार पस्दा जो सुकैलाई चोकहरु निकै आकर्षक लाग्थे । मुख्य बजारको चारै कोणमा रहेका ती चोकहरु मध्ये यतिबेला केही चोक निकै कुरुप बनेका छन् । टीकापुर नगरपालिका ब्लक नं. ए अन्तर्गत रहेको लक्ष्मीप्रसाद देवकोटा चोकमा यतिबेला नालाको पानी बगिरहेको छ ।

Khadga Memorial And Janajagriti

स्मार्टसिटी अन्तर्गत नमूना ब्लक निर्माण कार्यक्रमबाट निर्माण भइरहेको नालाको पानी सोझै उक्त चोकको बिचबाटै बग्छ । चोकको बिचतिर पानी भरिएको छ । दुर्गन्धित फोहोर त्यस्तै छ । चोकमा बिछ्याइएको इट्टा अहिले देख्न पाइँदैन । त्यहाँ दुबो लगायत घाँस उम्रिएको छ । मुख्य बजार क्षेत्रमै रहेको यो चोकले नगरलाई गिज्याई रहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको यो चोकले स्वयम् देवकोटालाई पनि गिज्याई रहेको छ ।

‘जति पटक फोटो खिचे पनि, लेखे पनि केही हुँदैन, दाई’ चन्दर मिष्ठान भण्डारका बिनित साहुले भने ‘मुख्य बजार क्षेत्रको चोकमै यस्तो ढल बग्छ, जति भने पनि यसमा केही हुनेवाला छैन ।’

गत आर्थिक वर्षमा उक्त चोकका बासिन्दाले नगरपालिकाको पटक पटक ध्यानाकर्षण गराएका थिए । नगरपालिकाले यसबारे केही नगरेको उनीहरुको गुनासो छ । व्यवसायी नवराज भट्टराईले भने ‘धेरै पटक नगरपालिका गएका हौं, निकास गरी दिनुपर्यो भनेर तर कसैले केही गरेनन् ।’

भट्टराईसँगै भेटिएका टीकापुरका युवा दीपक शाहले व्यंग्य गरे ‘अब यसमा माछा पालौं, स्वीमिङ्ग चलाऔं, शहरको बिचमा स्वीमिङ्ग पुल पनि हुनुपर्छ ।’

व्ययसायी अनिल रावलले नालाको पानी उक्त चोकमा बग्दा समेत नगरपालिकाले ध्यान नदिएको गुनासो गरे । ‘हामी हरेक वर्ष नगरलाई कर तिर्छौं, यो चोकमा नगरपालिका फोहोर उठाउन पनि आउँदैन’ रावलले भने ‘भाइसाब हाम्रो गुनासो मेयर सापलाई सुनाई देऊन ।’

त्यो चोकमै घर छ, टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर नगार्जीको । उनको घरसम्मै नालाबाट बगेको पानी पुग्छ । ‘नगरपालिकामा ठेकेदारलाई भनेर नाली निर्माण गर्न लगाएको हुँ, अघिल्लो दिनको पानी भरिएपछि स्थानीयले नाली नै फुटाई दिए, पानी सोझै मेरै अघि आइरहेको छ’ नगार्जीले भने ‘यसको निकासका लागि पहल गरिरहेको छु ।’

स्थानीय सरकार गठन भएको झण्डै ढाई महिना बित्नै लाग्यो । विभिन्न कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले नगरलाई सुन्दर बनाउन आफू लागि परेको बताउँदै आएका छन् । ‘यो नगरका ओपन स्पेशमा फलफूलका विरुवा लगाएर हरियाली बनाउँछौं’ नगर विकास समिति टीकापुरको पदस्थापना कार्यक्रममा थारुले भनेका थिए ।

टीकापुर जेसीजले गरेको एक कार्यक्रममा नगर प्रमुख थारुले भनेका थिए ‘खडग बहादुर मन्त्रीको योजना अनुसार नै हामी यो नगर बनाउँछौं, त्यसका लागि म अध्ययन गरिरहेको छु, केही प्रमाण फेला परेका छन् ।’ सायद त्यो भाषणमा थारुले नगरका ओपन स्पेशको कुरा इंगित गरेको हुनुपर्छ ।

त्यो भन्दा अघि झण्डै एक महिना लगाएर सडकमा थुपारिएका निर्माण सामग्री हटाउने सूचना बजाएको नगरपालिकाले केही सडक खाली समेत गर्यो । तर बजार क्षेत्रमै पर्ने लक्ष्मीप्रसाद देवकोटा चोकमा न त नगरपालिकाको ध्यान गयो, न त नगर प्रमुखको नै ।

दुई दिनअघि मात्रै मेयर थारुले खड्ग चोकमा सडक बत्ती जडानका लागि आफै नाप्न लागेको तस्वीर सामाजिक सञ्जालमा देखेको थिएँ । विभिन्न कार्यक्रममा गएको, निरीक्षण गरेको, अनुगमन गरेको आदि आदि फोटोहरु दैनिक देखेको छु । यी सबै हेर्दा लाग्छ, तपाई निकै व्यस्त हुनुुहुन्छ ।

नगर सुन्दर बनाउने, योजना सफल पार्ने, विकास निर्माणका काम गर्ने, नयाँ नयाँ योजना ल्याउने लगायत अनगिन्ती जिम्मेवारी छन् तपाईको काँधमा । निर्वाचन सम्पन्न भएको हनिमुन पिरियड नसकिँदै तपाईलाई यी प्रश्न सोध्नु हतार होला । तथापि तपाईको घर ब्लक नं. १४ भन्दा झण्डै ५ शय मिटर पश्चिम र नगरपालिका भन्दा झण्डै ५ शय मिटर दक्षिण पूर्व रहेको यो चोकतिर तपाई कहिले आउनुहुन्छ, निरीक्षण गर्नुहुन्छ, कहिले अनुगमन गर्नुहुन्छ ? तपाई कहिले हिँड्नु हुन्छ, ब्लक नं. १४ को बाटो ? तपाई कहिले सफा गर्नुहुन्छ नगरपालिकाको आँगन र यी चोकहरु ?

ओपन स्पेसको अध्ययन कहिले सकिन्छ ? हामीलाई कहिले सुनाउनु हुन्छ, के थियो खड्ग बहादुरको योजना ? साउनको मध्ये भइसकेको छ, कहिले लाउनु हुन्छ सार्वजनिक जग्गामा आम, अम्बा, मेवा र फलफूलहरु ? यस्ता प्रश्नहरु पछि सोधौंला, मेयर साप एक पटक देवकोटा चोक चाहिँ आउनुस् न, चन्दरको चिया र जेरी खाऊला, देवकोटा चोकको आँगन हेरौंला ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update