Hamro Patra
सहारा घर आफै बेसहारा


योगेश रावल
टीकापुर, २१ चैत
मानसिक सन्तुलन गुमेका व्यक्तिहरु बस्दै आएको बर्दगोरीया गाउँपालिकास्थित सहारा घर आफै बेसहारा बन्ने अवस्थामा पुगेको छ । स्थानीय बलबहादुर बिष्टको पहलमा सञ्चालित सहारा घर विभिन्न समस्याकाबीच गुज्रिरहेको छ ।

सहारा घरमा हाल ४० जना मानसिक सन्तुलन गुमेका व्यक्ति बस्दै आएका छन । जसमध्ये ८ जना महिला र २ नाबालिका छन । सहारा घरले ४३ जनालाई निको पारेर परिवार मिलन गराईसकेको छ । ती मध्ये ४ जना पुनः सडकमा आएका सञ्चालक बिष्टले बताए । उनीहरुलाई समेत पुनः सहारा घरमा ल्याएर राखिएको छ ।

पछिल्लो समयमा मानसिक सन्तुलन गुमेर सडकमा हिँडिरहेको व्यक्तिलाई धेरैले सहारा घरमा पु¥याउन थालेका छन । स्थानीय तह र प्रहरीले नै पत्राचार गरेर त्यस्ता व्यक्तिलाई पालनपोषण गरिदिन भन्दै सहारा घरको जिम्मा लगाउने गरेको छ । यसरी त्यस्ता व्यक्तिलाई सहारा घरको जिम्मा लगाउनेमा कैलालीका स्थानीय तह मात्रै छैनन् । सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत स्थानीय तहले पत्र सहित मान्छे पठाउने गरेको बिष्ट बताउँछन ।

Khadga Memorial And Janajagriti

‘त्यस्ता व्यक्तिलाई पाल्नु सहारा घरको ठेक्का हो भन्ने जसरी पत्र सहित मान्छे पठाउने गरेका छन’ उनले भने–‘सहारा घर कसरी चलिरहेको छ भन्ने बारेमा भने कुनै स्थानीय तहले चाँसो दिएका छैनन् ।’

सहारा घर बिष्टको आफ्नै पहलमा सञ्चालन भैरहेको छ । उनले विभिन्न व्यक्तिहरुलाई सहयोगका लागि आग्रह गर्छन । पछिल्लो समयमा सहारा घरमा जन्मदिन, वैवाहिक वर्षगाठ, पृती सम्झना जस्ता कार्यमा सहयोग गर्ने क्रम बढेको छ । यत्तिले मात्रै सहारा घर अघि बढ्न नसक्ने बिष्टको भनाई छ ।

सहारा घरमा बस्दै आएका व्यक्तिहरु मानसिक रुपमा विक्षिप्त मात्रै छैनन् । उनीहरु अन्य विभिन्न शारीरिक समस्याले समेत ग्रस्त छन । ती सबैको उपचार समेत बिष्टले आफ्नै पहलमा गर्ने गरेको बताए । उनले गोदावरी नगरपालिका–१० का विष्णु मगरको उपचारमा मात्रै ३५ हजार रुपैयाँ खर्च भैसकेको बताए । मगर विगत एक वर्षदेखी सहारा घरमा बस्दै आएका छन । चिकित्सकले उनको टाउकोको नशा सुकेको बताएका छन । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको बिष्टले जानकारी दिए ।

उनी राज्यका निकायबाट सहयोगको अपेक्षा पूरा नभएको प्रति खिन्न छन । उनले आफ्नो क्लिनिक सञ्चालनका लागि वित्तिय संस्थाबाट ऋण लिएको २५ लाख रुपैयाँ सहारा घरमा खर्च भैसकेको बताए । ‘हुन त मैले भनेर पनि कसैले मेरो पैसा फिर्ता दिने होईन’ उनले भने–‘यत्रो पैसा खर्च गरेर के पाए भन्ने प्रश्न मनमा उब्जिन्छ ।’

सहारा घरमा धेरै जनप्रतिनिधिहरु पुगेका छन । अधिकांशले सहयोगको आश्वासन समेत दिएका छन । ती आश्वासन पूरा नहुँदा बिष्टले पीडा महशुस भैरहेको बताए । अहिलेसम्म तीन वटा स्थानीय तहले माटो पटानी लगायतमा ९ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये बर्दगोरीया गाउँपालिकाले ५ लाख, लम्कीचुहा नगरपालिकाले ३ लाख र टीकापुर नगरपालिकाले १ लाख रहेको छ । यी बाहेकका कुनैपनि स्थानीय तहले सहयोग नगरेको बिष्टले दुखेसो पोखे ।

बौनीया बजारमा ओम साईराम क्लिनिक सञ्चालन गर्दै आएका बिष्टले २०७० साल मंसिरमा खुट्टामा कीरा परेको व्यक्ति सडकमा भेटेपछि उपचार गरेर निको पारेका थिए । सडकमा बेबारिसे जीवन बिताईरहेका साविक कोटातुल्सिपुर गाविसका ती प्रेम चौधरी निको भएपछि घर फर्किएका थिए । सोही घटना पछि बिष्टको मनमा अरु व्यक्ति पनि उपचार पाए निको हुनसक्छन भन्ने धारणा बन्यो र अभियान थाले ।

उनले सडकमा भेटिएका थुप्रै व्यक्तिहरुको उद्दार गरेर घरमा ल्याए । उनले झण्डै चार वर्ष त्यस्ता व्यक्तिहरुलाई घरमै राखेर उपचार गरे । ती मध्ये कतिपय निको भएर आफ्नो घर फर्किए । उनले सबैलाई घरमै राखेर पालनपोषण गर्न सम्भव नभएपछि २०७४ पुस २८ गते बर्दगोरीया जंगल किनारमा सहारा घर निर्माण गरेका हुन ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update