शेरबहादुर ऐर
धनगढी, साउन १२
कैलालीको भजनी नगरपालिका वडा नं. ५ पुलियापुरीकी रीतादेवी कामी हरेक वर्षातमा हुलाकी सडक छेउमा त्रिपाल लगाएर बस्छिन्। सडकभन्दा माथि रहेको घर कान्द्रा नदीले डुबाउने त्रासमा उनी परिवारसहित त्रिपालमा बस्ने गरेकी हुन् ।
असार १ गतेदेखि सडकमा पाल टाँगेर बस्दै आएकी उनी भन्छिन्, ‘कार्तिक महिनासम्म यही त्रिपालको सहारा लिएर सडकमा बस्नुपरिरहेको छ।’ डोटीको बर्छेनबाट उनका बाजेहरु बाढीबाट विस्थापित भई उक्त स्थानमा आएर बसोबास गर्दै आएका थिए।
उनले भनिन्, ‘बाजेहरु डोटीमा वर्षातकै कारण आएको पहिरोले विस्थापित भएपछि यहाँ आएर बसोबास गरेका हुन्। यहाँ पनि वर्षातमा घरभित्र बस्न सक्ने अवस्था भएन।’ उनले हरेक वर्ष सरकारका प्रतिनिधि,संघ/संस्थाहरु गुनासो सुन्नका लागि मात्र आउने गरेको बताइन्।
उनले भनिन्, ‘झण्डै सात वर्षदेखि हामीले वर्षातमा यही त्रिपालमा बस्नुपर्ने बाध्यता छ। सरकारका निकायहरु अनुगमन गर्न आउँछन्। गुनासो सुन्छन्। तर, समस्याको समाधानतर्फ पहल कसैले गर्दैनन्।’
हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ । यो वर्ष पनि बस्ती पूणर्रुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका लालबहादुर विक भन्छन्, ‘त्रिपाल लगाएर सडकमा कसलाई मन हुन्छ र ? सामान्य वर्षा हुँदा पनि घर डुबान पर्छ। बालबच्चाको हेरचाह गर्न पनि समस्या हुन्छ।’
बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको उनले दुखेसो पोखे। उनले सडकमा बस्दा स्वच्छ खानेपानी, खाद्यान्नलगायतको अभाव झेल्नु परेको बताए।
उनले भने, ‘खुल्ला सडक छेउमा वन्यजन्तुको त्रास छ। बत्ती नहुँदा स्कुले बालबालिकालाई पढ्न समस्या भईरहेको । हामीलाई सुरक्षित स्थानमा बसोबास गराउन कसैले ध्यान दिएका छैन।’
‘असार १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो,’ रतन कामीले भने, ‘हरेक वर्ष यस्तै समस्या हुन्छ। तर, कसैले पुनःस्थापनका बारेमा सोचेको छैन ।’
डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन्। बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ।
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको परुली कामीले दुखेसो पोखिन्। १२ वर्षदेखि डोटी र दैलेख जिल्लाबाट बसाई सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ।
आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन्। बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ।