Hamro Patra
कर्णालीको तटीय क्षेत्रमा बाढी विमा लागु हुने

टीकापुर, साउन १०

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले कैलालीको पूर्वी क्षेत्रमा नदीजन्य विपदका कारण झण्डै ढाई लाख बढी नागरिक प्रभावित हुने बताएका छन् ।

टीकापुरमा आज भएको सुचकांकमा आधारित बाढी बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री रावलले सो कुरा बताएका हुन् ।

CMA Staff

‘विपद् जुनसुकै बेला आउन सक्छ, यसका लागि हामीले गर्नुपर्ने सबै किसिमका पूर्वतयारीहरु गरिरहेका छौं’ मन्त्री रावलले भने ‘यदि कर्णाली लगायतका नदीमा बाढी आए पूर्वी क्षेत्रका झण्डै २ लाख ६० हजार बढी नागरिकहरु प्रभावित हुनेछन् ।’

मन्त्री रावलले यसका लागि सबै सरोकारवाला निकायले सहकार्य गरेर बाढीबाट हुने जोखिम न्यूनिकरणका लागि काम गर्नुपर्ने बताए ।

‘किसानको अन्नबालीमा बाढीबाट हुने क्षतिको पूर्तिका लागि सूचकांकमा आधारित बाढी विमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ’ मन्त्री रावलले भने ‘यसलाई बढी प्रभावकारी र किसानसम्म पुग्ने बनाउनका लागि यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले बाढी विमाले किसानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

‘किसानका लागि अनुदान कार्यक्रम राम्रो भएको छैन, तर बाढी बिमाले स्थानीय सहकारीका माध्यमबाट किसानमा विश्वास जगाउन सके निकै फाइदा पुग्नेछ’ मन्त्री शर्माले भने ‘बाढी बिमाका चुनौतिलाई समाधान गर्न हामी सबै सरोकारवाला निकाय एकजुट हुनुपर्छ ।’

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव कमलप्रसाद ढकाल, लुम्बिनीका सचिव कोमल प्रसाद धमाला, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढी बिमाका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेल, बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट, राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह के.सी, टीकापुर नगरपालिकाका प्रवक्ता बलिराम चौधरी, मौसम विज्ञ डा. धर्मराज उप्रेती लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कर्णालीको तटीय क्षेत्रका टीकापुर, राजापुर, मधुवन नगरपालिका र जानकी तथा गेरुवा गाउँपालिकाका बाढी प्रभावित किसानहरुलाई सूचकांकमा आधारित बाढी बिमा कार्यक्रममा सहभागी गराउनेबारे छलफल भएको थियो ।

प्राक्टिकल एक्सन, शिखर इन्स्योरेन्स लगायतका संघसंस्थासँगको सहकार्यमा यस क्षेत्रका १२ वटा स्थानीय सहकारीले बाढी बिमा कार्यक्रममा किसानलाई सहभागी गराउने जानकारी दिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update