Hamro Patra
दाम्लोमा बित्दै युवतीको जीवन

योगेश रावल
टीकापुर, बैशाख ३१
लम्कीचुहा नगरपालिका–१ मुक्तकमैया बस्तीकी बेफनी थारु (१९) को जीवन १४ वर्ष दाम्लोमा बितेको छ । मानसिक अवस्था ठिक नभएकी उनको आगामी जीवन अझै कतिवर्ष दाम्लोमा बित्ने हो थाहा छैन ।

उनलाई आफन्तले नै दाम्लोमा बाँधेर राख्ने गरेका छन । घर छोडेर भाग्ने भएकाले दाम्लोमा बाँधेर राख्ने गरेको आमा झिङ्गिया थारुले बताईन । उनका अनुसार बेफनी ५ वर्षको उमेरमा बिरामी परेकी थिईन । त्यो भन्दा अघि कुनै स्वास्थ्य समस्या थिएन ।

Khadga Memorial And Janajagriti

उनी एकदिन अचानक बिरामी परिन । उनको बोलचाल बन्द भयो । उनी मानसिक रुपमा बर्बराउन थालिन । घर छोडेर हिँड्न थालेपछि आफन्तले बाँधेर राखे । मुक्त कमैया बुबा चिन्का र आमा झिङ्गियाले भूतप्रेत लागेको भन्दै धामी झाँक्रीकोमा पु¥याए । कसैले क्रिश्चियन बनेपछि निको हुन्छ भनेर सुनायो । उनीहरुले एक महिनासम्म हरेक साता बिरामी छोरीलाई बोकेर चर्चमा पु¥याउन थाले ।

बेफनीको स्वास्थ्य समस्या न धामी झाँक्रीले निको पार्न सके न चर्चमा गएर निको भयो । छोरीको स्वास्थ्यमा सुधार नदेखेपछि आमाबुबा बिरामी छोरी बोकेर अस्पताल पुगे । त्यहाँ पनि उनको स्वास्थ्य अवस्थामा खाशै सुधार भएन । ‘धेरै पटक नेपालगञ्ज अस्पतालमा लगेका थियौं’ आमा झिङ्गियाले भनिन्–‘निको नभएपछि जानै छोडिदियौं ।’

मुक्त कमैया दम्पत्तिलाई बिरामी छोरीको उपचार गराउँदा गराउँदै ऋण लाग्यो । उनीहरु ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन । उनीहरुका ३ छोरा र ५ छोरी छन । बिरामी बेफनी काइली छोरी हुन । आमा झिङ्गियाले अरु सन्तानमा कुनै स्वास्थ्य समस्या नरहेको बताईन । उनले आफ्नो जीवन बिरामी छोरीको चिन्तामा बित्न थालेको दुःखेसो पोखिन ।

उनले विगत १४ वर्षदेखी बिरामी छोरीको स्याहार गर्दा निकै आजित भएको बताईन । बिरामी बेफनी बोल्न सक्दिनन् । दिसापिसाब समेत जिउमै गर्छिन । लुगा च्यातेर फाल्छिन । भोक, प्यास लाग्यो भने बर्बराउँछिन । जे दिए पनि खान्छिन ।

उनको स्याहार गर्नमा नै परिवारका एक सदस्यको दिन बित्छ । आमाबुबा काम गर्न गएको बेला दाजुभाउजुले स्याहार गरिदिन्छन । भाउजु सुनिता थारुले धेरै पटक आफै फुत्किएर भागेको बताईन । ‘एकजनाको काम उसलाई हेर्ने मात्रै छ’ उनले भनिन्–‘नजिकै हाईवे छ । फुत्कियो भने दौडेर पुगिहाल्छ ।’

मुक्त कमैया परिवारलाई बिरामी छोरीको स्वास्थ्य समस्याले हैरान पारेको छ । उनीहरु कुनै राम्रो स्वास्थ्य संस्थामा लगेर उपचार गर्ने अवस्थामा छैनन् । उनीहरुका लागि बिरामी छोरीलाई दाम्लोमा बाँधेर राख्नु नै उत्तम विकल्प लागेको छ । तैपनि परिवारमा उपचार पायो भने निको हुन्थ्यो कि भन्ने आशा भने जीवितै छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update