Hamro Patra
गर्मीले जनजीवन प्रभावित

टीकापुर, साउन ३

लामो समयसम्म पानी नपरेपछि पश्चिम तराईका कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन प्रभावित भएको छ। दुवै जिल्लामा पानी नपरेको १० दिन हुन थालेको छ। पानी परे पनि १०/१५ मिनेट पर्ने र त्यसले झन् गर्मी हुने गरेको छ।

CMA Staff

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले दिएको तथ्यांकअनुसार गत वर्षको भन्दा यसवर्ष १० डिग्रीले तापक्रम बढी छ। गत वर्ष साउनको १ र २ गते २६ डिग्री तापक्रम रेकर्ड भएकोमा यस वर्ष साउन १ गते ३८.८ र २ गते ३६ डिग्री पुगेको छ। ‘गत वर्ष असारमै पानी राम्रो परेको थियो। यस वर्ष असारमा पानी नै परेन। २÷३ दिन मात्रै पानी परेकाले पनि गर्मी बढेको हो,’ मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया (कैलाली) का मौसम विज्ञान सहायक सिंगल चौधरीले भने। गत वर्षको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो भने यस वर्ष ४०.८ डिग्री मापन भएको छ।

चौधरीका अनुसार गत वर्षको अप्रिल २८ मा ४१ डिग्री तापक्रम मापन भएको थियो भने यस वर्ष पनि अप्रिलको २६ तारिखका दिन ४०.८ डिग्री मापन भएको। उनले गत वर्ष असारको महिनामा २६ डिग्रीदेखि ३७ डिग्री सम्म तापक्रम मापन भएको बताए। यस वर्ष अघिल्लो वर्षको तुलनामा निकै कम पानी परेको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरू डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी र बाजुरामा वर्षाको अनुपात बढी छ। पहाडी जिल्लाहरू भएकाले पनि त्यहाँ त्यती गर्मीले असर गर्दैन। तर, तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भने पानी नपरेपछि गर्मीले हैरान बनाएको छ।

मौसम विज्ञान विभागले गत वर्षको असार १ गतेदेखि साउनको २ गतेसम्मको वर्षा भन्दा यसपालि आधा पनि वर्षा नभएको जनाएको छ। ‘यसपालि गत वर्षको भन्दा आधा पनि पानी परेको छैन। अनि गर्मी हुने नै भयो’ चौधरीले भने, ‘बर्खामा कात्तिकको महिनाको जस्तो घाम लागिरहेको छ।’ गर्मी बढेसँगै अस्पतालहरूमा बिरामीहरूको संख्या पनि बढेको छ। बढीजसो नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू गर्मीले आजित छन्।

सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालको मात्रै तथ्यांक हेर्ने हो भने गत वर्षको भन्दा झण्डै ३ गुणाले बिरामी बढेका छन्। सेती अस्पतालमा गत वर्षको असारमा ओपीडी र इमरजेन्सी सेवा लिने बिरामीको संख्या ७ हजार ७४२ रहेकोमा यस वर्षको असारमा मात्रै त्यो संख्या १९ हजार ९२३ पुगेको छ। ‘गर्मीका कारण बिरामीको चाप बढेको छ। बढीजसो नवजात शिशु, बालबालिका र ज्येष्ठ नागरिकहरू आउने गरेका छन्,’ सेतीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने।

सेती अस्पतालमा मात्रै होइन, धनगढीमा रहेका एक दर्जन निजी अस्पतालहरूमा पनि गर्मीका कारण बिरामी बढेका छन्। ‘गत वर्षको भन्दा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, छालाका रोगहरू भएका बिरामी बढेका छन्’ माया मेट्रो अस्पतालका प्रबन्ध निर्देशक डा. मोहन साउदले भने, ‘पानी नपरेपछि धेरै प्रकारका रोग बढ्ने गर्छ।’

अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update