Hamro Patra
धान सुक्यो, जमिन फाट्यो वर्षा भएन

टीकापुर, साउन ३

साउन महिना लागिसक्दा समेत पर्याप्त वर्षा नहुँदा रोपाईं गरिएको धान सुक्न थालेको छ भने जमिन फाँट्न थालेको छ । असारमा किसानहरुले मोटर र बोरिङ्गको पानीबाट रोपाई गरेका भएपनि पर्याप्त वर्षा नहुँदा रोपिएको धान सुक्न थालेको हो । रोपाई गरिएको जमिनमा ठूला चिरा पर्न थालेका छन् । असार महिनाभरि खासै पानी नपरेपछि असारको मध्यबाट किसानहरुले रोपाईं शुरु गरेका थिए ।

किसानहरुले बोरिंगको सहयोगले रोपाई गरेको भए पनि वर्षा नहुँदा जमिनमा चिरा पर्ने, रोपिएको धान पहेंलो भएर सुक्ने गरेको छ । टीकापुर नगरपालिका वडा नं. २ का किसान गौमती विश्वकर्माले मोटर लगाएर रोपिएको धान वर्षा नहुँदा सुक्न थालेको बताए ।

Khadga Memorial And Janajagriti

‘साउन लागिसक्यो पानी पर्दैन, धान जम्मै पहेलो भइसकेको छ, खेतमा पनि पुरै चिरा परेको छ’–उनले भनिन्–‘साउनमा समेत वर्षा नभएपछि अधिकांश जमिनको धान सुक्ने अवस्थामा छ ।’

वर्षा भए असारमै रोपाईं सकिन्थ्यो । गत वर्ष यही समयमा रोपाईं गरेर सकेका जानकी गाउँपालिका वडा नं. २ का किसान सुरेन्द्र कठरियाले वर्षा नहुँदा वर्षेबालीको उत्पादनमा कमी आउने बताए । ‘पानी परेको छैन, हामीलाई रोपेको धान पनि सुक्न लागेपछि उत्पादन नै कम हुन्छ कि भन्ने पीर परेको छ’ उनले भने ‘धान मात्रै नभएर वर्षे मकै, तिल, मास लगायतका बालीको उत्पादनमा कमी आउछ ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले कैलालीमा रोपाई सकिएको बताए । उनले वर्षेनी विभिन्न निकायबाट पम्पसेट, बोरिङ्गहरु वितरण भइरहेका कारण समेत कैलालीमा रोपाई असार अन्तिमतिर सकिएको दावी गरे ।

‘वर्षेनी बोरिङ्गहरु बाँडिएको छ, वर्षा कम भए पनि रोपाई सकिएको छ’ शर्माले भने ‘कैलालीका सबै स्थानीय तहहरुमा बुझ्दा झण्डै शतप्रतिशत नै रोपाई भएको छ ।’

शर्माका अनुसार यस वर्ष कैलालीमा ६९ हजार ५ शय हेक्टर जमिनका धान खेती गरिएको छ । शर्माले वर्षा नहुँदा धान सुकेको, जमिनमा चिरा परेको र वृद्धिविकासमा समस्या देखिएको बताए ।

‘समयमा वर्षा नहुँदा खेतमा चिरा परेको, हलक्कै बढ्नुपर्ने धान नबढेको जस्ता समस्या छन्’ शर्माले भने ‘यसले उत्पादनमा समेत केही असर गर्ने देखिन्छ ।

उता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीका सहायक सूचना अधिकारी टिकेन्द्र कुश्मीले सुदूरपश्चिम भरि झण्डै ८२ प्रतिशत जमिनमा रोपाई सकिएको बताए ।

‘पर्याप्त वर्षा हुँदा असार १५ भित्र सम्पन्न हुनुपर्ने रोपाई साउन लाग्दा समेत सकिएको छैन’ कुश्मीले भने ‘समयमा रोपाई नसकिएपछि उत्पादन घट्नुका साथै हिउँदे बालीहरु गहुँ, तोरी लगाउन समेत समस्या हुन्छ ।’

गत वर्ष धान बाली भित्र्याउने समयमा आएको बाढीबाट पीडित बनेका किसानहरु यस वर्ष पानी नपर्दा उत्पादनमा कमी आउने चिन्तामा छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update