टीकापुर, साउन २
कैलालीको जानकी गाउँपालिकालाई सूचना मैत्री बनाइने भएको छ । पालिकाका अध्यक्ष गणेश चौधरीले आज एक कार्यक्रमका बिच सूचना मैत्री गाउँपालिका बनाउने नीतिको शुरुवात गरेका छन् ।
कार्यक्रमको शुरुवात गर्दै अध्यक्ष चौधरीले नागरिक र पालिकाबिच सूचनाको कमी हुन नदिन सूचनामैत्री नीति लिइएको बताए । ‘जोसँग जतिधेरै सूचना छ, त्यही नै शक्तिशाली हुन्छ’ अध्यक्ष चौधरीले भने ‘पालिकाबासीमा सूचनाको पहुँच बढाउनका लागि अभियानको थालनी गरेका छौं ।’
उनले गाउँपालिकाका सूचनाहरु नागरिकसम्म पुर्याउन थारु समुदायमा रहेको बडघर र चिरागीलाई प्रयोग गरिने बताए । ‘गाउँपालिकाका सूचनाहरु वडा कार्यालयमार्फत् प्रिन्ट गरेरै हरेक नागरिकको घरसम्म चिरागी र बडघरहरुको सहयोगमा पुर्याइने छ’ अध्यक्ष चौधरीले भने ‘यसले गर्दा नागरिकले सूचना पनि पाउने भए भने चिरागी र बडघर प्रथा पनि जीवन्त हुने भयो ।’
उनले सूचना सम्प्रेषणका अन्य माध्यमहरुको समेत प्रयोग गरिने बताए । समयानुकुल प्रविधिहरुको समेत प्रयोग गर्ने बताउँदै अध्यक्ष चौधरीले नागरिकसँग सूचना लुकाउन नहुने बताए ।