Hamro Patra
निर्माण भएको झण्डै दुई वर्षपछि बसपार्क उद्घाटन

टीकापुर, साउन १

निर्माण सम्पन्न भएको झण्डै दुई वर्षपछि कैलालीको टीकापुर बसपार्क उद्घाटन गरिएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले एक कार्यक्रमका बिच बसपार्कको उद्घाटन गरेका हुन् ।

२०७७ भदौ ३ गते निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई धनगढी कार्यालयमार्फत बसपार्क निर्माण भएको थियो । दुई चरण गरी निर्माण भएको बसपार्कमा झण्डै १५ करोड लागत लागेको हो ।

Khadga Memorial And Janajagriti

बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख थारुले अव्यवस्थित पार्किङका कारण हुने सडक दुर्घटनाहरुमा कमी आउने विश्वास व्यक्त गरे । ‘नगरपालिकाले टेण्डर प्रक्रिया पूरा गरेर बसपार्क सञ्चालनमा ल्याएका छौं’ प्रमुख थारुले भने ‘अब अरु ठाउँहरु पनि व्यवस्थित गर्दै जानेछौं ।’

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले अमिक्षा कन्ट्रक्सन टीकापुरलाई आगामी तीन वर्षका लागि ५५ लाख ३८ हजार २ शय ५५ रुपैयाँमा ठेक्का दिइएको बताए । उनले कन्ट्रक्सनले बसपार्कको व्यवस्थापन लगायतका कामहरु जिम्मेवारीपूणर् ढंगले गरेर बसपार्कलाई व्यवस्थित गर्ने बताए ।

बसपार्कभित्र व्यवस्थित रेष्टुरेन्ट, चारवटा काउण्टर, दुईवटा सटर, व्यवस्थित यात्रु प्रतिक्षालय लगायत रहेका छन् । बसपार्कमा बस, ट्रक, मिनी बस, हाइस, विंगर, अटोरिक्साहरु पार्किङ गरिनेछ ।

निर्माण कम्पनीका प्रतिनिधि भरतबहादुर रावलले बसपार्कको व्यवस्थापनका लागि सिसी क्यामेरा, इन्टरनेट सुविधा नगरपालिकाले जडान गर्नुपर्ने बताए ।

टीकापुर बसपार्क बुटवलदेखि पश्चिमको आधुनिक बसपार्क हो । बसपार्क सञ्चालनमा आएपछि सडक दुर्घटनामा कमी आउने बताइएको छ । बसचालक रामप्रसाद रेग्मीले बसको सुरक्षाका लागि समेत बसपार्क सञ्चालन आउनु राम्रो भएको बताए ।

बसपार्क सञ्चालनमा नआउँदा बसहरु सडकमै पार्किङ हुने गरेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update