टीकापुर, असार ३१
निर्माण सम्पन्न भएर हस्तान्तरण नहुँदै टीकापुरको घण्टाघरका घडीहरु बन्द भएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीले निर्माण गरेको घण्टाघरका घडीहरु बन्द भएका हुन् । घण्टाघर रोयल प्रशंसा जेभीले निर्माण गरेको हो ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडी भने बन्द भएका हुन् ।
घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताए ।
घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जिनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताए । रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताए । ‘प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ’ उनले भने ‘प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।’
निर्माण कम्पनीले चार घडी आठ लाखमा रुपैयाँमा खरिद गरेको जोशीले जानकारी दिए । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो ।
स्थानीयहरुले घण्टाघरका घडी निकै सानो भएको र टाढाबाट हेर्दा नदेखिने भन्दै विरोध गर्दै आएका छन् ।