टीकापुर, असार ३१
कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिकामा ६ करोड ६७ लाख १ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा टीकापुर नगरपालिकामा उक्त रकम बेरुजु देखिएको हो ।
कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको छ ।
जिल्लाको सबैभन्दा बढी बेरुजु रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १५ करोड ७९ लाख ३६ हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम जोशीपुर गाउँपालिकामा देखिएको छ । त्यस नगरपालिकामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिमा १० करोड ५१ लाख ६५ हजार, गोदावरी नगरपालिका ६ करोड ९२ लाख ७४ हजार रकम बेरुजु देखिएको छ । भजनी नगरपालिकामा ५ करोड ७२ लाख ८८ हजार, लम्कीचुहा नगरपालिकामा ५ करोड ६३ लाख १८ हजार, गौरीगङ्गा नगरपालिकामा ४ करोड १९ लाख १२ हजार रकम बेरुजु देखिएको छ ।
यस्तै मोहन्याल गाउँपालिकामा ४ करोड ८४ लाख १ हजार, चुरे गाउँपालिकामा ३ करोड ५६ लाख ५९ हजार, बर्दगोरीया गाउँपालिकामा २ करोड ५४ लाख ४५ हजार, जानकी गाउँपालिकामा २ करोड ५७ लाख ४ हजार रकम बेरुजु देखिएको छ ।
यस्तै ३ करोड २० लाख ८३ हजार रकम कैलारी गाउँपालिकाको बेरुजु देखिएको छ ।