टीकापुर, असार २८
लम्कीचुहा नगरपालिकामा शिक्षकले तलब नपाएपछि शिक्षक कर्मचारी आन्दोलित भएका छन् ।
पछिल्लो चौमासिक तलबभत्ता समयमै निकासा गर्न नसकेको भन्दै शिक्षक कर्मचारीहरुले नगरपालिकाको कामप्रति असन्तुष्टि जनाएका छन् ।
नगरपालिकाबाट पाउनुपर्ने नगर अनुदान शिक्षकको तलब र अंग्रेजी, गणित र विज्ञान विषयका लागि छुटइएको शिक्षण अनुदान रकम बाहेक अन्य सबै शिक्षक, बालविकास र कर्मचरीको रकम निकासा नभएको र चाँडै स्रोत जुटाएर रकम व्यवस्थापन गरिने लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए ।
असार २५ गतेभित्र निकासा भैसक्नुपर्ने रकम निकासा नहुँदा समस्या सृजना भएको न्यौपानेले बताए । समस्या समाधानका लागि पहल भैरहेको उनले बताए ।
शिक्षकहरुको तलब समयमै निकासा नगरी शिक्षक प्रति अन्यापूणर्, विभेदपूणर् कार्य भएको भन्दै यथाशिघ्र तलब भुक्तानी गरीदिन नेपाल शिक्षक महासंघ लम्कीचुहाले एक विज्ञप्ती निकाल्दै नगरपालिकालाई बुझाएको छ ।
शिक्षक महासंघले २४ घण्टाभित्र तलब भुक्तानी नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघ लम्कीचुहा नगरपालिकाका अध्यक्ष राम प्रसाद तिमिल्सेनाले लम्कीचुहा शिक्षक महासंघ, पालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठन र शिक्षक कर्मचारिको संयुक्त उपस्थितिमा प्रेस विज्ञप्ती सहित तत्काल तलब भत्ता निकासा गर्न दबाब दिएको बताए ।
लम्कीचुहा नगरपालिकामा आफ्नो पारिश्रमिकका लागि शिक्षकले सधैं आन्दोलन र दबाब दिनुपर्ने बाध्यता रहेको शिक्षकहरूको गुनासो छ । यसअघि पनि गत असोजमा दसैँको मुखमा शिक्षकले तलब नपाएपछि शिक्षकहरु असन्तुष्ट बनेका थिए ।