टीकापुर, असार २८
नेपालभर लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने जिल्लामध्ये चौथो नम्बरमा रहेको कैलालीमा टीकापुर सबैभन्दा धेरै प्रयोगकर्ता रहेको पाइएको छ ।
मंगलबार धनगढीमा सम्पन्न भएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका प्रमुख गोकणर्प्रसाद उपाध्यायले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
केही महिना अघि टीकापुरमा आयोजित एक कार्यक्रममा समेत उपाध्यायले सो तथ्यांक सार्वजनिक गरेका थिए । ‘विद्यालय उमेरदेखिका बालबालिकाहरु लागुऔषधको प्रयोगकर्ताको रुपमा बढ्दै गएको देखिन्छ’ शाखा प्रमुख उपाध्यायले भने ‘यसको नियन्त्रणका लागि तत्काल कदम नचालिए अवस्था गम्भीर हुने देखिन्छ, यसतर्फ हामी सबैले ध्यान दिन जरुरी छ ।’
कार्यक्रममा बोल्दै कैलालीका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले अन्य स्थानहरु भन्दा टीकापुर नगरपालिकामा लागुऔषधका प्रयोगकर्ता सबैभन्दा बढी रहेको बताए । ‘जिल्लाभरिमा पहिलोमा टीकापुर र दोस्रो नम्बरमा धनगढी उपमहानगरपालिका रहेको छ ।’
कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले लागुऔषध प्रयोगकर्तालाई समुदायबाट छुट्याउनु पर्ने बताएका छन् । कैलालीको अवस्था भयावह रहेको र यस्तै अवस्था रहने हो भने युवाको भविष्य धरापमा पर्ने हमालले बताएका छन् ।
‘लागुऔषधको लतमा फसेकाहरुलाई तत्काल समुदायबाट अलग्याई रिह्याब सेन्टरमा राख्नुपर्छ’ उनले भने, ‘सबै तहका सरकार तथा संस्थाहरु मिलेर यसविरुद्धको अभियानमा लाग्नुपर्छ ।’
धनगढी उपमहानगरपालिकाले पनि लागुऔषध नियन्त्रणबारे नीति ल्याएको उनले बताए । उपमहानगर सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर लागुऔषध विरुद्धको अभियानमा लाग्ने मेयर हमालले बताएका छन् ।
उनका अनुसार लागुऔषध प्रयोगकर्ता प्रहरी नियन्त्रणमा रहे पनि त्यसको अवैध वितरण भारतबाट हुने भएकाले अनुसन्धान तथा नियन्त्रणमा चुनौति रहेको छ ।