टीकापुर, असार २७
सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् । नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन् ।
प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो । बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए ।
पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, आज पनि बैठक बस्न सकेन ।
यस्तै प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुनबहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझैसम्म छलफल सुरु हुन सकेको छैन ।
बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तापक्ष र विपक्षका प्रदेश सांसदहरुले बजेट संसोधनको अडान राखेर पारित गर्न नसकिने बताउँदै आएका छन्।
तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेको छ।