बाँकावीर नै प्रथम सहिद किन ?
सुरतबहादुर शाह
नेपाली बृहत् शब्दकोश’ ले सहिद शब्दलाई ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी अर्थ्याए पनि हामीले भने यसलाई राजनीतिक अर्थमा मात्र ग्रहण गरेका छौं । पहुँच र दाबीलाई थाती राख्दै ऐतिहासिक तथ्य, उपलब्ध कागजात र प्रमाणका आधारमा सहिद खुट्याउनु नै विवेकी र बुद्धिमतापूणर् हो । १८ चैत ०७८ मा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘बाँकावीर’ नेपालका प्रथम सहिद भएको धारणा व्यक्त गरेपछि ‘प्रथम सहिद’ को बहस एकाएक सतहमा आयो । ओली-अभिव्यक्तिको प्रतिक्रियास्वरूप ‘प्रथम सहिदका नाममा अनावश्यक विवाद’ शीर्षकमा ‘नयाँ पत्रिका’ मा (१० वैशाख ०७९) सन्जोग लाफा मगरको लेख पढेँ । लेखमा मगरले ‘लखन थापा नै प्रथम सहिद हुन’ भन्ने दाबीको पुनरुक्ति गरेका छन ।
त्यो दाबीको पुनर्कथनसँग मेरो खास असहमति होइन । लखन थापालाई ‘विस्थापित’ गरेर बाँकावीरलाई प्रथम सहिद घोषणा गर्नुपर्छ भन्ने पनि मेरो आग्रह होइन । तर, सहिदको ‘परिभाषा’ भित्र बाँकावीर-विद्रोह पर्दैन भन्नु विद्रोहकै अवमूल्यन हो । सहिद बहसमा बाँकावीर विद्रोहलाई अनदेखा गर्नु न्यायसंगत होइन । आजको चेतनाले मान्ने विद्रोहको नजरियाबाट बाँकावीर विद्रोहको मूल्यांकन गर्नु गलत हो । ओलीको बोली त्यही सत्यको उजागर हो ।
बाँकावीर विद्रोहको सुरुवात
वि.सं. १९०३ मा नेपालको शासन व्यवस्थामा जंगबहादुर राणाको उदय भएसँगै सत्ता बलियो पार्न उनले देशैभर सैनिक परिचालन गरे । राणा सैनिकहरूले जनतामा भय, त्रासको वातावरण बनाउन दमनको नीति अख्तियार गरे ।
देशैभर शक्तिशाली रवाफ देखाउने सिलसिलामा जंगबहादुरले पश्चिम नेपालमा रिपुमर्दन नामक सैनिक टोली खटाए । रिपुमर्दन त्यतिखेरको बलियो सैन्य टोलीमा गनिन्थ्यो । जंगबहादुर आफ्ना पिता बालनरसिंह कुँवरसँगै विसं १८९० देखि १८९२ सम्म सेनाको सुवेदारका रूपमा डँडेलधुरा र १८९२ देखि १८९४ सम्म हुम्लामा खटिएका थिए । त्यस अवधिमा उनले पश्चिम नेपालका जनताको नाडि छामिसकेका थिए । उताका जनताले आफूविरुद्ध जतिखेर पनि विद्रोह गर्न सक्छन् भन्ने आकलन गरी जंगबहादुरले सुदूरपश्चिममा बलियो सैन्य टोली खटाए र सुदूरपश्चिमका संवेदनशील ठाउँमा सैनिक पोस्ट (ठाना) हरू खडा गरे । बान्निगढीलाई केन्द्र बनाउँदै जंगबहादुरले अछामका चाल्सा, जुपु, नवाठाना र कोटघरमा सैन्य ठाना बनाए ।
पाँच स्थानमा रखिएका ती सैन्य टोलीले अछामी जनतामाथि अत्याचार गर्न थाले । अछामका जनताले त्यसबेला पूर्व-पश्चिमतर्फ ओहोरदोहोर गर्ने प्रशासक र पल्टनका सामान तथा गोलीगठ्ठा बेगारीका रूपमा ढुवानी गर्नुपर्थ्यो । अछामका सैनिकले गाउँलेको भकारी रित्तो पार्दै अनाज लुट्न थाले । सुदूरपश्चिममै उत्पादित ‘ठिटुवा’ कपडाका थान जबरजस्ती खोस्न थाले ।
जंगबहादुरका सैनिकले आफू चढ्ने घोडा खेतीबालीमा खुला छाड्न थाले । राणा पल्टनको दमन र थिचोमिचोबाट स्थानीय जनता पीडित बनिरहेका थिए । राणा सैनिकहरू महिलामाथि हातपात गर्थे, युवतीलाई अपहरण गरी बलात्कार गर्थे । पल्टनले दिएको सास्तीबारे गुनासो गर्दा पल्टनका हाकिमहरू पीरमर्का पोख्नेलाई नै कुल्याहा (विद्रोही) को आरोप लगाउँदै सास्ती दिन्थे । र, पल्टनका अत्याचारविरुद्ध गुनासो गर्ने गाउँलेका पिठ्युँमा घोडाको काठी कसेर, त्यसमाथि पल्टन प्रमुख सवार हुन्थे ।
अछामी राजा रणभीम शाहीका भाइ बलदेव शाहीले राणा पल्टनका यी सबै अत्याचारको विरोध गरे । पल्टनको आतंक बन्द गर्न उनले बान्नीगढीका पल्टन प्रमुखलाई जाहेर गरे । तर, प्रमुखले बलदेवलाई नै कुल्याहाको सन्तान भनी प्रताडित गरे । बिनाअपराध अछामी जनताले पाएको सजाय र पल्टनको अत्याचारविरुद्ध प्रधानमन्त्री जंगबहादुर राणालाई बिन्तीपत्र पनि चढाए बलदेवले । तर, सत्ताको उन्मादमा सवार भएका राणाले कुनै सुनुवाइ गरेनन् ।
पल्टनको अत्याचार नरोकिने छाँट देखेपछि बलदेवले राणाविरुद्ध प्रतिरोधको योजना बनाए । उनले छापामार शैलीमा पल्टनमाथि आक्रमण गर्ने नीति बनाई भूमिगत रूपमा युवाहरूलाई संगठित गर्न थाले । बलदेवले भूमिगत संगठन बनाउन डोटी र कैलालीका जंगल रोजे । भूमिगत संगठनमा आवद्ध युवाहरूले कसरत गर्ने अखडा अहिले पनि डोटी र कैलालीका जंगलमा भेटिन्छन् । तत्कालीन डोटीको कोलतडी (हाल कैलाली) जंगलमा यस्ता अखडा अझै छन् । अछाम, बाजुराजस्ता क्षेत्रबाट किनमेलका लागि बर्दियाको राजापुर जाने-आउने हटारूमध्ये धेरै युवा कोलतडीमै बलदेवको संगठनमा भर्ती हुन्थे । बलदेवले राणाहरूविरुद्ध संगठन बनाएपछि त्यो विद्रोहको राँको कैलालीदेखि बझाङसम्म र दैलेखदेखि बैतडीसम्म सल्कियो ।
लामो समय भूमिगत भएर संगठन निर्माण गरेपछि बलदेवकी आमाले छोराको सम्झनामा गाएको गीत अछामी जनतामा अझै प्रचलित छ ः
‘कोल्तडी भाबरभित्र, बाँका लायो चिउरो
कैंका खुँडी चारो खान्छौ, मेरा पाल्या पिउरो’
आफ्नो नीतिअनुसार, छापामार शैलिमा बलदेवले युद्ध सुरु गरे । गाउँलेका अनाज र कपडा लुट्ने अनि अनेक दुःख दिने सेना-कर्मचारीलाई अपहरण गरी उनले राणाविरुद्ध क्रान्तिको विगुल फुके । बाली लगाइएको खेतमा छाडिएका घोडाका खुट्टा काट्दै राणा सैनिकसँग बदला लिन सुरु गरे । बलदेवको साहसिक एवं रणकौशलयुक्त काम देखेका अछामी जनताले उनलाई ‘बाँकावीर’ को नाम दिए । ‘रामचरित मानस’ मा हनुमानलाई ‘रण बाँकुरा’ भनिएको छ । सोही आशयका आधारमा अछामीहरूले बलदेवलाई ‘बाँकावीर’ को उपाधि दिएका हुन् ।
‘बाँका’ को नेपाली अर्थ साहसी, खाइलाग्दो, रूपवान् हुन्छ भने ‘वीर’ को अर्थ बहादुर, शूरो वा बलवान । जंगलमा पाइने पिँडालुजस्तो जमिनमुनि लाग्ने फल (गानो), जसलाई बँदेलको वीर (भाले) ले सूँडले खन्दै झिकेर, चपाएर छरपस्ट पार्छ । त्यसैगरी बलदेव पनि पल्टनका अत्याचारीलाई छरपस्ट पार्ने साहसी भएकाले बाँकावीरको उपाधिबाट उनलाई सम्मानका साथ सम्बोधन गरिएको भन्ने कथा पनि अछाम क्षेत्रमा सुन्न पाइन्छ ।
बाँकावीरको विद्रोह अभियान अछाममा मात्रै सीमित भएन । त्यो दक्षिण कैलालीदेखि उत्तर बझाङ र पूर्व दैलेखदेखि पश्चिम बैतडीसम्म फैलियो । कैलाली चिसापानीबाट उत्तरको जंगलमा राणा पल्टनले बाँकावीरलाई घेरा हाली पक्रन खोज्दा वर्षातको भेलले उर्लिएको खोलासमेत उफ्रिएर पार गरी उनी भागेका थिए । त्यो ठाउँ अहिले ‘बाँकावीर फट्टके’ नामले चिनिन्छ र त्यहाँ बनेको पुललाई ‘बाँकावीर पुल’ भनिन्छ । विसं १९०५ वैशाखमा जंगबहादुरले बलदेव शाही (बाँकावीर) सहित बझाङका अम्बरसिंह भण्डारी र ईश्वरसिंह समेतलाई ‘काट्ने’ आदेश जारी गरका थिए । यसबाट छापामार युद्धको विस्तार समग्र पश्चिम क्षेत्रमा भएको अनुमान लगाउन सकिन्छ । बाँकावीरले भूमिगत रूपमै आफ्नो संगठन सुदूरपश्चिमभरि फैलाउने अभियान चलाएका थिए भन्ने प्रमाण पनि हो यो । अछाम, डोटी, कैलाली क्षेत्रका घना जंगलमा लुक्दै छापामार कारबाही गरिरहेका बाँकावीरलाई सैन्य कारबाहीमार्फत तह लगाउन नसकिने छनक पाएपछि राणाहरूले कुटिल शैली अपनाए ।
०३९ मा साझा प्रकाशनबाट प्रकाशित ‘पहलमानसिंह स्वाँर स्मृतिग्रन्थ’ मा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पहलमानसिंह स्वाँरका बारेमा’ शीर्षकको लेखमा बाँकावीरलाई काट्ने जंगबहादुको आदेशसमेत पेस गरेका छन् ः
स्वस्तिश्री प्राइमिनिष्टर याण्ड कमाण्डर इनचीफ जनरल जङ्गबहादुर कुँवर कस्य पत्रम् । आगे भवानीसिंह स्वाँरके भगुवा गुरूप्रसाद साहले हामीलाई दगा गर्न भनी पठाएको आछामी रणभीम शाहीको भाइ बल्देव शाही-१ बझाङ्गी अम्बरसिंह भण्डारी-१ गुमान सिंहको भाइ ईश्वर सिंह-१ तीन जना जहाँ फेला पर्छन्, इनलाई काटी दिनू भन्ने श्री ५ सरकारको हुकुम भयाको छ, काटी दिनु । इनीहरूका मद्दतिमा जो जो छन्, तिनलाई नेल गलफन्दी हाली नउम्कन्या गरी यहाँ ल्याउने काम गर्नु........ इति संवत् १९०५ साल मिति वैशाख सुदि...... रोज शुभम् ।
काट्ने आदेश दिएर बाँकावीरको छापामार समूहमा राणाहरूले आफ्ना मान्छे छिराए । र, आफ्नै पल्टनमा रहेका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणाविरोधीको आरोप लगार्ई केही महिना थुने । त्यसपछि स्वाँरबन्धुलाई बर्खास्त गरेको दाबी गर्दै अछाम पठाए ।
जंगबहादुरले षड्यन्त्र गरी अछाम फर्काएका स्वाँरबन्धु आफूहरूलाई राणाविरोधी दाबी गर्दै बाँकावीरको समूहमा छिरे अनि भान्जाको नाता लगाउँदै उनको अंगरक्षक बने । विसं १९०६ कात्तिक-मंसिरतिर राणाको निर्देशन पूरा गर्न खटिएका स्वाँरबन्धुले बान्नीगढीको राणा पल्टनमाथि आक्रमण गर्ने योजनाअन्तर्गत बाँकावीरमाथि नै प्रहार गरे । रेकीबाट फर्किरहेका बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल- बान्नीगढी गाउँपालिका) धारामा नुहाउन थाले । स्वाँरद्धय बाँकावीरलाई सिध्याउने अनुकूल मौकाको ताकमा थिए ।
धारामा टाउको झुकाई नुहाउन लागेका बेला कालुसिंह स्वाँरले पछाडिबाट तरबार प्रहार गरी बाँकावीरको टाउको छिनाले । र, छिनालेको बाँकावीरको टाउको बोकी स्वाँरबन्धुहरू राणाको पाउ पर्न गए ।
बाँकावीरको हत्या गरेको प्रमाणस्वरुप स्वाँरबन्धुले राणाहरूलाई लेखेको एउटा पत्र छ । पत्रमा राणाहरूले अह्राएको काम फत्ते गरिएको उल्लेख छ । र, त्यसबापत दाइ स्वरूपसिंह स्वाँरले ‘मधेशमा बस्नु’ भनी पाएको सजाय कम गरिदिन राणाहरूसँग पत्रमा आग्रह गरिएको छ । ‘सेती अञ्चल दिग्दर्शन’ किताबमा पूणर्प्रकाश नेपाल ‘यात्री’ ले राणाले अह्राएअनुसार बाँकावीरलाई मारेको स्विकार्दै स्वाँरबन्धुले दाइको सजाय माफ गरिदिन अनुरोध गरेको त्यो पत्र समावेश गरेका छन् ।
विसं १९०६, पुस १५ मा स्वाँरबन्धुले चढाएको बिन्तीपत्रमा लेखिएको छ, ‘आगे सरूपसिंह स्वारके यथोचित उप्रान्त भगुवा भारादारका मद्दतले हामीमाथि दगा गर्न आउन्या अछामको बलदेव साइलाई काटी आउनु भनी भवानीसिं स्वाँर र कालुसिं स्वाँरलाई पठायाको हो अर्हाया बमोजिम बलदेव साइलाई काटी आउँदा....।’ बाँकावीरको हत्यापछि भवानी स्वाँर र कालुसिंह स्वाँरले कप्तानी पद पाए । र, उनीहरूका दाजु स्वरूपसिंह स्वाँरले लप्टन दर्जा पाए ।
लखन थापाले बाँकावीरभन्दा निकै पछि मात्रै गोर्खामा राणाशाहीविरुद्ध संगठित विद्रोहको प्रयास गरेका थिए । विसं १९३३ मा राणाहरूबाट क्रूरतापूर्वक मारिएका थिए- लखन थापा । तर, थापा मारिनुभन्दा २८ वर्षअघि नै राणाविरुद्ध संगठित रूपमा छापामार युद्ध सुरु गरेको अभियोगमा बाँकावीरको हत्या (विसं १९०५) गरिएको थियो । राणा शासनको सुरुवातमै अछाम, डोटी, बझाङ, बाजुरा हुँदै दैलेखसम्म राणाविरोधी अभियान विस्तार गरेर मारिएका बाँकावीर प्रथम सहिदको उपाधि पाएका लखन थापाभन्दा पहिलै नै मारिएको तथ्य आफ्नो लेखमा सन्जोग लाफामगरले नै स्वीकार गरेका छन् । त्यसोभए राणा शासनविरुद्ध संघर्ष अभियान छेडेर थापाभन्दा २८ वर्षअघि नै मारिएका बाँकावीरलाई पहिलो सहिद नमान्नुपर्ने कारण के छ ?
श्री ५ हरूको जरो जोडिएको गोरखामा लखन थापाले सुरु गर्न खोजेको विद्रोहलाई हरेक कालखण्डका इतिहासकारले चासो दिनु स्वाभाविक हो । आफूले कज्याएका श्री ५ को उदग्म थलोमा सुरु हुन लागेको विद्रोहलाई जंगबहादुरले बढी चासो र चिन्तासाथ हेर्नु पनि स्वाभाविक नै थियो । तर, नेपाल खाल्डोबाट निकै दूरको अछाममा भएको त्यो विद्रोह तत्कालीन इतिहासकार र शासकको चासोको केन्द्रमा हुने कुरै भएन । त्यस बावजुद जंगबहादुर राणाले बाँकावीरलाई मार्न दिएको आदेश र ‘हामीले मार्यौं’ भन्ने स्वाँरबन्धुको स्वीकारोक्तिले बाँकावीर विद्रोहको तरंग निकै ठूलो थियो भन्न सकिन्छ । लखन थापाको विद्रोह इतिहास थियो, उनी अमर सहिद हुन् । तर, प्रथम सहिद बाँकावीर नै हुन् ।
कान्तिपुरबाट
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्