Hamro Patra
युवाहरुले ठड्याए नमूना अध्ययन गृह

योगेश रावल
टीकापुर, बैशाख ३०
सामाजिक सञ्जाल मार्फत सहयोग जुटाएर १३ जना युवाहरुले मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन । क्रियटिभ नेपालमा आवद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृहको पक्की भवन निर्माण गरेका हुन ।

२०७५ असोज १६ गते शिलान्यास गरेको भवन यही बैशाख २१ गते समुदायलाई हस्तान्तरण गरिएको छ । युवाहरुले एक समारोहकाबीच बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका छन ।

सो भवनमा कार्यालय, पुस्तकालय र एक सय जना अट्ने हल छ । यसका साथै घेरापर्खाल, सरस्वती मन्दिर र गार्डेन पनि छ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरिदिएका हुन ।

Khadga Memorial And Janajagriti

क्रियटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै ११ लाख भन्दा बढी रकम खर्च भएको छ । स्थानीयले ६ लाख बराबरको जनश्रमदान गरेका छन । उनले विद्यालय भवन निर्माणका लागि ११ लाख १२ हजार रुपैयाँ सहयोग संकलन भएको बताए । त्यो सबै रकम सामाजिक सञ्जाल फेसबुक मार्फत संकलन गरिएको हो ।

युवाहरुले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई पढाईरहेको देखे । सुदामाले प्रति विद्यार्थी एक रुपैयाँ शुल्क लगेर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आएकी थिईन । उनले रुखको फेदमा बसेर बालबालिकालाई पढाउथिन ।
सुदामाले मुक्त कमैयाका बालबालिकाको शिक्षाका लागि निर्वाह गरेको भूमिकाले युवाहरुलाई प्रभावित ग¥यो । उनीहरु सबैले सल्लाह गरेर मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृह निर्माण गर्ने अभियान थाले ।

युवाहरुको यो अभियान फेसबुकबाटै सुरु भयो । सबैले नमूना अध्ययन गृह निर्माण गर्ने बारे फेसबुकमा पोष्ट गरे । यो खबर पढेर स्वदेश र विदेशमा रहेका केही व्यक्तिहरु उनीहरुको सम्पर्कमा आए । सुरुमा युवाहरुलाई सम्पर्कमा आएका व्यक्तिहरुको विश्वास जित्न निकै समस्या भयो । कतिपयले विभिन्न आरोप प्रत्यारोप लगाउने खालका कुरा पनि गरे । तरपनि उनीहरुले हिम्मत हारेनन् । युवाहरुले अभियानलाई निरन्तरता दिई रहे । युवाहरुको निरन्तरताबाट प्रभावित भएर केही व्यक्तिहरु सहयोगका निम्ति अघि सरे ।

उनीहरुलाई सहयोग गर्ने पहिलो व्यक्ति कञ्चनपुरको पुर्नबासकी सृजना चुनारा थिईन । उनले ३ हजार रुपैयाँ सहयोग गरेकी थिईन । सबैभन्दा बढी रकम सहयोग गर्ने भने चितवन घर भई बेलायतमा बस्दै आएकी तिलकुमारी गुरुङ हुन । उनले १ लाख ३४ हजार ५८८ रुपैयाँ सहयोग गरेकी थिईन । उनीहरुले सहयोग गर्ने व्यक्तिहरुका बारेमा समेत फेसबुकमा पोष्ट गर्न थाले । यसले धेरै व्यक्तिहरुमा सहयोगी भावना उत्पन्न भयो ।
‘हामीले कसैलाई व्यक्तिगत रुपमा सहयोगका लागि आग्रह गरेको हैन’ अध्यक्ष सुनारले भने–‘फेसबुकले धेरै व्यक्तिलाई सम्पर्कमा ल्यायो र हामीले विश्वास जित्यौं ।’

युवाहरुले कुनै सरकारी निकायलाई सहयोगका लागि भनेनन् । कुनै सरकारी ओहदामा रहेका व्यक्तिलाई समेत आग्रह गरेनन् । उनीहरुले अभियानमा विशुद्ध सहयोगी मन भएकाहरुलाई मात्रै जोडे । उनीहरुले सरकारी सहयोग बिना पनि केही काम गरेर देखाउन सकिन्छ भनेर प्रमाणित गर्नु अभियानको उद्देश्य रहेको बताए । अध्यक्ष सुनारले तर यसको अर्थ सरकारलाई चुनौती भने नदिएको बताए । उनले सरकारी सहयोग बिना सरकारलाई नै सहयोग हुने काम गरेको बताए ।

‘यो सरकारलाई चुनौती हैन । हामीले सरकारलाई सकारात्मक काम गरेर सहयोग गरेका हौ’ उनले भने–‘सकारात्मक काम गरेर सरकारलाई सहयोग गर्नु हाम्रो दायित्व पनि हो ।’

अध्यक्ष सुनारका अनुसार अध्ययन गृह अझै पूर्ण हुन सकेको छैन । शौचालय, पिउने पानी, विद्युत लगायतको समस्या छँदैछ । युवाहरु बाँकी समस्या कसरी समाधान गर्ने भन्ने योजनामा छन । १९ देखी २३ वर्ष उमेरका उनीहरु मध्ये धेरैजसो परीक्षाको तयारीमा छन । ‘धेरैजसो साथीहरुको परीक्षा आईरहेको छ’ अध्यक्ष सुनारले भने–‘परीक्षा लगत्तै अध्ययन गृहको सबै समस्या समाधान गर्छौ ।’

अध्ययन गृहमा ७४ जना बालबालिका पढ्दै आएका छन । सुरुमा ५० जना बालबालिका मात्रै थिए । उनीहरु विद्यालय भन्दा बाहेकको समयमा अध्ययन गृहमा पढ्छन । कतिपय विद्यालय नजाने बालबालिकाहरु समेत अध्ययन गरिरहेका छन । विद्यालयको समय भन्दा अघिपछि पनि बालबालिकाले राम्रो वातावरणमा पढ्न पाउन भन्ने उद्देश्यले अध्ययन गृह निर्माण गरिएको अभियन्ता मध्येका एक उदय भाटले बताए ।

‘विगतमा बालबालिकाहरुको ध्यान पढ्ने तर्फ थिएन । उनीहरु खेलिरहेका भेटिन्थे’ उनले भने–‘अध्ययन गृह निर्माण पछि धेरै बालबालिकाको पढाई तर्फ ध्यान खिचिएको देखिन्छ ।’

बालबालिकाहरुको ध्यान पढाई तर्फ आकर्षित भएको मात्रै हैन उनीहरु निकै अनुशासित देखिएका छन । उनीहरु सफासुग्घर समेत देखिएका छन । युवाहरुको प्रयासले मुक्त कमैया बस्तीमा खुशी ल्याएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update