टीकापुर, असार २२
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुरको समग्र विकासका लागि टीकापुर लगानी सम्मेलन गर्ने बताएका छन् । टीकापुर जेसीजको २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख थारुले सो कुरा बताएका हुन् ।
‘युएनडीपी लगायतका संस्थाहरुसँग छलफल भइरहेको छ, टीकापुरको समग्र विकासका लागि तीन महिनाभित्र लगानी सम्मेलन गर्छौं’ नगर प्रमुख थारुले भने ‘यो सम्मेलनका माध्यमबाट टीकापुरको समृद्धि, सुशासन र विकास गर्नेछौं ।’
उनले टीकापुर विकास समितिको गठन गरेर स्व. खड्गबहादुर सिंहले बनाएको टीकापुरको मास्टर प्लान अनुसार नै टीकापुरलाई निर्माण गर्नुपर्ने बताए ।
‘यहाँ सबै कुरा छ, औद्योगिक क्षेत्रको जग्गा छ, कृषिको जग्गा छ, मास्टर प्लान छ’ उनले भने ‘अब यहाँ फुलबुट्टा भरेर टीकापुर बनाउने हो, चोक चोकमा बाल उद्यान, वृद्ध मिलन केन्द्र र बगैंचाहरु बनाउनका लागि हामी आएका छौं ।’
उनले टीकापुरको गुरुयोजना बिगारिएको बारे चिन्ता गर्दै बिगार्नेहरुबारे समेत अध्ययन भइरहेको बताए । ‘टीकापुरको गुरुयोजना कसले बिगारेका छन्, केही डाटा पाएको छु, केही अध्ययन गरिरहेको छु’ नगर प्रमुख थारुले भने ‘हामीलाई टीकापुरका युवाहरुको साथ रहेको छ, अब हामीले नै टीकापुर बनाउने हो ।’
टीकापुर जेसीजको आयोजनामा भदौ २४ र २५ गते हुने क्षेत्र ‘घ’ सम्मेलनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिँदै नगर प्रमुख थारुले भने ‘यो कार्यक्रममा देशभरका युवाहरु आउँदै हुनुहुन्छ भन्ने मैले जानकारी पाएको छु’ उनले भने ‘टीकापुरको पहिचानसँग जोडेर हुने कार्यक्रममा हाम्रो पूर्ण सहयोग रहन्छ, हामी सहयोग गर्नेछौं ।’
कार्यक्रममा बोल्दै टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिंह रावलले टीकापुरको सन्देश देशैभर पुर्याउनका लागि समेत क्षेत्र ‘घ’ सम्मेलन सफल पार्नुपर्ने बताए ।
टीकापुर जेसीज वर्ष २०२२ का अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल, जेसीजका पूर्व अध्यक्ष कृतिसिंह बम, कोहलपुर जेसीजका संस्थापक अध्यक्ष सम थापा, टीकापुर जेसीजका पूर्व अध्यक्षद्वय टेकराज रेग्मी, गणेशबहादुर साउँद, लायन्स क्लब इन्टरनेशनल ३२५ एन क्लस्टर चिफ नारायण प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।