Hamro Patra
सञ्चालनमा आएन नमूना बसपार्क

टीकापुर, असार २२

टीकापुर नगरपालिका वडा नं. १ मा निर्मित नमूना बसपार्क हस्तान्तरण भएको झण्डै दुई वर्ष बित्नै लाग्दा समेत सञ्चालनमा आएको छैन ।

CMA Staff

सुदूरपश्चिमकै नमूना मानिएको उक्त बसपार्क २०७७ भदौं ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो । बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।

अहिले सडकमै सवारी साधन पार्किङ हुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरू बताउँछन् । टीकापुरबाट अहिले दिनहुँ झण्डै दुई शयको संख्यामा बस सञ्चालनमा छन् । यहाँबाट १५/१५ मिनेटको फरकमा धनगढीसम्म बस सेवा सञ्चालनमा छ । यसका साथै नेपालगञ्ज, बुटवल, सुर्खेतलगायतका ठाउँमा समेत दिवा सेवाका बसहरु छुट्ने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला र काठमाडौंसम्मका लागि दिनहुँ दर्जन बढी रात्रि बस समेत सञ्चालन हुँदै आएका छन् । यी सबै दिवा तथा रात्रिकालीन सेवाका बसहरू सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । निर्माणाधिन छ लेन सडकमै बस पार्किङ गर्नु परेका कारण दुर्घटनाको जोखिम समेत बढेको सुन्दर सुदूरपश्चिम बस व्यवसायी समितिका टिकापुर इन्चार्ज भरत रावलले बताए ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराथारूले बसपार्कको टेण्डर भैसकेको बताउँदै छिट्टै सञ्चालनमा आउने बताए । उनले आफू मेयरमा निर्वाचित भैसकेपछि बसपार्क संचालनका विषयमा गम्भीर रहेको बताए । ‘बसपार्क सञ्चालनका लागि टेण्डर सम्झौताको प्रक्रियामा छ, केही दिनमै सञ्चालन हुन्छ ।’

शहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वयन एकाई धनगढीको ८ करोड २८ लाखको लागतमा निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले २०७७ भदौ ३ गते निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण भएको लामोसमयसम्म सञ्चालनमा नआउँदा बसपार्क भने जिणर् बनेको छ । यात्रु प्रतीक्षालय, टिकट काउन्टर, पार्किङ गर्ने स्थानहरूमा लेउ जमेको छ भने भवनमा लगाइएको रंगसमेत खुइलिएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update