टीकापुर, असार २०
पाँच वर्षदेखि १२ वर्षमुनिका कैलालीका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
विद्यालयहरुमै खोप केन्द्र निर्धारण गरेर सानो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइएको हो । छुटेका बालबालिकालाई भने स्वास्थ्य संस्थामा एक दिन खोप कार्यक्रम राखेर सो खोप लगाइएको थियो ।
पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई असार ९ गतेबाट फाइजर खोप लगाउन सुरु गरिएको थियो । जिल्लाका १३ वटै स्थानीय तहमा गरेर एक लाख ४३ हजार ९३४ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिए पनि अहिलेसम्म लक्ष्यसम्म पुग्न सकिएको छैन ।
नियमित खोप कार्यक्रम सञ्चालन भएका पालिकामा ढिलो गरी कोरोनाविरुद्धको खोप अभियान शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार गौरीगंगा नगरपालिकामा बल्ल खोप लगाउन शुरु गरिएको छ ।
‘केही पालिकाहरुमा अझै खोप लगाउने कार्य भइरहेको छ’ प्रमुख धामीले भने ‘अभियान अझै जारी रहेकाले धेरै बालबालिकाले अझै खोप नपाएको देखिन्छ ।’
पहिलो चरणमा खोप लगाउनका लागि कैलालीलाई एक लाख पाँच हजार डोज खोप आएको थियो । २३ हजार डोज खोप अझै अपुग रहेको धामीले बताए ।
जिल्लाको मोहन्याल गाउँपालिकामा ४ हजार ४ शय ४०, चुरेमा ३ हजार ९ शय ८०, गोदावरी नगरपालिकामा १६ हजार ५ शय ६९ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै, धनगढी उपमहानगरपालिकामा ३० हजार ७ शय ७८, भजनी नगरपरपालिकामा ७ हजार १ शय २८, टीकापुर नगरपालिकामा १३ हजार ७ शय २६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
गौरीगंगा नगरपालिकामा १० हजार ५ शय, घोडाघोडीमा १४ हजार ४ शय ६४, लम्कीचुहा नगरपालिकामा २२ हजार ४९ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने लक्ष्य रहेको छ ।
यसैगरी, कैलारी गाउँपालिकामा ४ हजार ८ शय ३७, जोशीपुर गाउँपालिकामा ४ हजार ६ शय ९९, पाँच जानकीमा ५ हजार १ शय १०, बर्दगोरिया गाउँपालिकामा ५ हजार ६ शय ५४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।