Hamro Patra
नयाँपन दिन खोज्दै गाउँपालिका अध्यक्ष चौधरी

टीकापुर, असार १९

कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी गाउँपालिकाको गाडी चढ्दैनन् । उनी प्रायःजसो मोटरसाइकलमै सवार भेटिन्छन । उनी अहिलेसम्म गाडी चढेर एकपटक धनगढी र अर्को एकपटक नेपालगञ्जसम्म मात्रै गएका छन । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न धनगढी र काठमाण्डौं जाने क्रममा नेपालगञ्जसम्म मात्रै गाडी प्रयोग गरेको बताए ।

‘मेरो सोच गाउँपालिका भित्र सकेसम्म गाडी चढ्न हुँदैन भन्ने हो’ उनले भने-‘अतिआवश्यक भए मात्रै प्रयोग गर्छु होला । त्यो पनि अहिलेसम्म गरेको छैन ।’

Khadga Memorial And Janajagriti

उनी आफूले गाडी नचढ्दा दुरुपयोग नहुने र इन्धनको समेत बचत हुने बताउँछन । उनले यस कार्यलाई स्रोत व्यवस्थापन भनेका छन ।

उनको अर्को प्राथमिकताको विषय समय व्यवस्थापन हो । उनी समयमै गाउँपालिका पुग्छन । बैठक, सभा समारोह समयमै सुरु गर्छन । सेवाग्राहीका गुनासा समयमै सुन्छन । त्यसको समाधानको उपाय समयमै दिन्छन । ‘जे गर्नुछ समयमै गर’ उनले भने-‘समयले हामी कसैलाई पर्खेर बस्दैन ।’

उनले गाउँपालिका कार्यालयमा ‘जंक फुड’ निषेध गरेका छन । उनले खाजाका रुपमा चाउमिन, चाउचाउ, मःमः लगायतका खाजालाई बन्देज लगाएका छन । उनले नीति तथा कार्यक्रममै परम्परागत खानेकुरालाई प्रवद्र्धन गर्ने उल्लेख गरेका छन । उनले गाउँपालिका भित्र बैठक, सभा समारोह हुँदा खाजाका रुपमा ढिक्री र सेलरोटी खुवाउन निर्देशन दिएका छन ।

ढिक्री थारु र सेलरोटी पहाडीया समुदायको परम्परागत खानेकुरा हो । उनी परम्परागत खानेकुरासँग आफूहरुको पहिचान जोडिएको बताउँछन । ‘आयातित खानेकुराले हाम्रो परम्परागत खानेकुरा बिस्थापित भयो’ उनले भने-‘हामी सबै मिलेर पहिचान जोगाउनु पर्छ ।’

उनले गाउँपालिकामा कार्यक्रम गर्ने गैरसरकारी संघ संस्थालाई समेत खाजाका रुपमा परम्परागत खानेकुरालाई मात्रै प्राथमिकता दिन भनेका छन ।
उनले चाउमिन उत्पादनमा गाउँपालिकाले कुनै तालिम नदिने बताए । उनले बरु त्यस्तो तालिम ढिक्री र सेलरोटीको व्यवसायीकरणमा दिइने जानकारी दिए । 

उनले आफ्नो कार्यकाल शिक्षा र स्वास्थ्यको विकासमा समेत केन्द्रित रहने बताए । उनले गाउँपालिकाका बासिन्दा शिक्षा र स्वास्थ्यमा छिमेकी टीकापुर र लम्कीचुहा नगरपालिकाप्रति आश्रित रहेको बताए । उनले पाँच वर्षे कार्यकालमा शिक्षा र स्वास्थ्यमा निकै धेरै सुधार गरिने दाबी गरे ।

उनले आधारभूत तहसम्मको शिक्षाका लागि गाउँपालिकाको कुनै पनि विद्यार्थी अन्यत्र नजाने गरी काम शुरु गरेको जानकारी दिए । उनले यसका लागि विद्यालय मर्ज गर्ने नीति लिइने बताए । उनका अनुसार गाउँपालिकामा निजी र सामुदायिक गरी ४८ विद्यालय छन । ती मध्ये भौगोलिक रुपमा नजिक रहेका विद्यालयलाई मर्ज गरिनेछ ।

‘कुनै विद्यालयमा १५ जना विद्यार्थी छन भने त्यहाँ पर्याप्त शिक्षक छन । कुनै विद्यालयमा विद्यार्थी प्रशस्त छन तर शिक्षक छैन’ उनले भने-‘यो असमानतालाई अन्त्य गर्नुपर्छ ।’

उनले पाँच वर्षभित्र १५ शैयाको अस्पताल संचालन गर्ने बताए । उनले त्यो अस्पताल सिकलसेलका बिरामीलाई लक्षित गरेर खोलिने जानकारी   दिए । सिकलसेल थारु समुदायमा मात्रै लाग्ने एक प्रकारको वंशाणुगत रोग हो । थारु समुदायमा धेरै व्यक्तिमा सिकलसेल भेटिएको छ । उनीहरुले राम्रोसँग उपचार पाउन सकेका छैनन् ।

उनले कृषकका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताए । गाउँपालिकामा उत्पादन भएको तरकारी काठमाण्डौंसम्म ढुवानी गर्न मिल्ने गरी कृषि एम्बुलेन्स सञ्चालन गरिने जानकारी दिए । उनले कृषकको जीवनस्तरमा सुधार ल्याउन कृषि एम्बुलेन्स प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘कृषि एम्बुलेन्सले कृषि क्षेत्रमा बिचौलियाको अन्त्य हुनेछ’ उनले भने-‘कृषकले आफ्नो उत्पादन आफै बेच्न पाउने छन ।’

उनले वडाका समस्या वडामै समाधान गर्ने नीति लिएका छन । उनले वडाध्यक्षलाई आफ्नो क्षेत्राधिकार भन्दा बाहेकका काम मात्रै गाउँपालिकामा सिफारिस गर्न निर्देशन दिएका छन । उनले सामान्य विकास निर्माणका काम माग गर्न गाउँपालिका नपुग्न भनेका छन । ‘सामान्य काममा लागि समेत गाउँपालिका धाउने परिपाटी अन्त्य गर्नुपर्छ’ उनले भने-‘हामीले नीति बनाउने हो कार्यान्वयन वडाबाटै हुन्छ ।’

उनले विगतमा स्थापित भएका बेथितिलाई नियन्त्रण गर्न कठिनाई भए पनि आफू सफल हुने विश्वास व्यक्त गरे । चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट जितेका हुन । उनी पूर्वपत्रकार समेत हुन । उनले झण्डै दुई दशक भन्दा बढी समय टीकापुरमा रहेर पत्रकारिता गरेका थिए । उनले आफू पत्रकारिताबाट आएका कारण पनि काम गर्न निकै सहज भैरहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update