अछाम, असार १९
अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर चलाउनेलाई पक्राउ गरेको हो ।
घटनाको अनुसन्धानका लागि मेयर चलाउने र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको अछामका डीएसपी नारायण डांगीले बताए । यो सँगै शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी केही दिन पछि मृत अवस्थामा भेटिएका थिए ।