टीकापुर, असार १८
बर्दियाको सीमावर्ती भारतीय जंगलमा निगुँरो टिप्न गएका एक नेपालीको गोली हानी हत्या भएको छ ।
जिल्लाको गुलरिया नगरपालिका वडा नं. ३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियामाथि बिहीबार राति ९ बजे भारतीय जंगल मुर्तीहामा गोली प्रहार भएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले गोली कसले हान्यो भन्ने खुल्न नसकेको बताए ।
‘उहाँ एक्लै निगुँरो टिप्न राति जंगल जानुभएको रहेछ,’ सुवेदीले भने ‘उहाँमाथि गोली कसले हानेको हो भन्ने खुलिसकेको छैन ।’
डिएसपी सुवेदीका अनुसार आसपासमा बस्ने स्थानीय कसैले पनि गोली चलेको आवाज नसुनेको बताए । ‘स्थानीयसँग हामीले सोधपुछ गर्दा कसैले पनि गोली चलेको आवाज सुनेनौं भन्ने जवाफ दिए’ सुवेदीले भने, ‘तर उहाँको दाहिने खुट्टाको तिघ्रानेर गोली लागेको हुँदा अत्यधिक रक्तश्रावको कारण मृत्यु हुन पुगेको अस्पतालले स्पष्ट भनेको छ ।’
गोली लागेपछि घाइते गोडिया आफैं गाँउसम्म आएको र त्यसपछि नजिकै अंगत गोडियासहितका मानिसहरूले बोकेर घर पुर्याएको डिएसपी सुबेदीले बताए । घाइते गोडिया बेहोस भएपछि एम्बुलेन्स बोलाएर जिल्ला अस्पताल गुलरिया पुर्याएउँदा राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी सुबेदीले जानकारी दिए ।
उनलाई कसले गोली हान्यो भन्ने बारे एकिन भइ नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
उक्त जंगल क्षेत्र भारतीय वन्यजन्तु आरक्ष भएका कारण भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ ।