टीकापुर, असार १७
नेपाल जेसीजका राष्टिय अध्यक्ष लालमणी भण्डारीले टीकापुरमा आयोजना हुने क्षेत्र ‘घ’ सम्मेलन यस क्षेत्रकै लागि गौरबको कार्यक्रम भएको बताएका छन् ।
टीकापुर जेसीजले आज आयोजना गरेको सन्दर्भः क्षेत्र ‘घ’ सम्मेलन, राष्टिय अध्यक्ष तथा पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सो कुरा बताएका हुन् ।
उनले आफूले प्रतिनिधित्व गर्ने शाखा समेत क्षेत्र ‘घ’ मा पर्ने बताउँदै यसलाई सफल बनाउनका लागि आफूहरु सहयोग गर्न तयार भएको बताए । उनले भने ‘यो सम्मेलनबाट हामीले जेसीजमा लागेका नयाँ सदस्य र पूराना सदस्यहरुका लागि विशेष तालिम सञ्चालन गर्नेछौं ।’
तालिमका माध्यमबाट समाज रुपान्तरणमा योगदान पुर्याउन सकिने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले टीकापुरलाई ऐतिहासिक भन्दै नेपालका चारवटै क्षेत्र मध्ये टीकापुर शाखाले आतिथ्यता गर्ने क्षेत्र ‘घ’ सम्मेलन उत्कृष्ठ हुने बताए ।
कार्यक्रममा बोल्दै निरुपित राष्टिय कार्यकारी उपाध्यक्ष अनिल बहादुर शाहीले क्षेत्र ‘घ’ सम्मेलनले यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
टीकापुर जेसिजका संस्थापक अध्यक्ष प्रा.डा.जगतबहादुर सिंह रावलले सन् २००१ पछि सन् २०२२ मा टीकापुरले क्षेत्र ‘घ’ सम्मेलनको आतिथ्यता गर्न पाउनु सुखद् रहेको बताए । उनले जेसीजका नयाँ पुस्तालाई कार्यक्रम फलदायी हुने बताए ।
टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र ‘घ’ सम्मेलनको तयारीका बारेमा जानकारी गराइएको थियो । क्षेत्र ‘घ’ सम्मेलनबारे उठेका प्रश्नहरुको जवाफ राष्टिय अध्यक्ष भण्डारीलगायतले दिएका थिए ।
आगामी भदौ २४ र २५ गते टीकापुरमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन हुँदैछ । नवलपरासीदेखि पश्चिमका ५५ वटा शाखाका झण्डै १ हजार बढी जेसीजमा आवद्ध युवाहरुको सहभागितामा सम्मेलन हुनेछ । २१ वर्षपछि टीकापुरले क्षेत्र ‘घ’ सम्मेलनको आतिथ्यता गर्ने अवसर पाएको हो ।